प्रोस्टेटमा विभिन्न उमेरमा देखिने समस्याहरू विभिन्न किसिमका हुन्छन्। उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्दै जान्छ। ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ। यसपछि विभिन्न खालका समस्याहरू आउन सक्छन्।
तर ५५/६० उमेर नपुगी भने धेरै समस्या देखिँदैनन्। कसैलाई ४०/४५ वर्षमा समेत समस्या देखिन्छ। सामान्य हिसाबले बुझ्ने भनेको उमेर बढेपछि प्रोस्टेट बढ्छ भन्ने हो।
प्रोस्टेट ग्रन्थी बढेपछि आउने समस्याहरूमा पिसाबको धारा सानो हुने,पिसाबको लागि बल गर्नुपर्ने, ननिख्रिने, पिसाब फेर्न छिटो/छिटो जानुपर्ने हुन्छ। कतिपयलाई पिसाब गर्नै नसक्ने, शौचालय जाँदैमा पिसाब चुहिने अनि राति धेरै पटक उठ्न पर्ने हुन्छ। कतिपयलाई पिसाब पोल्ने अनि पिसाब बन्द हुनेलगायतका समस्या हुन्छन्। कतिलाई प्रोस्टेट क्यान्सर हुन्छ भने कतिलाई किड्नीमा समस्या हुन्छ।
प्रोस्टेट ग्रन्थीमा समस्या देखिएमा तीन किसिमका उपचार हुन्छन्। सेक्सुअल्ली सक्रिय मान्छेहरूमा धेरैजसो प्रोस्टेटको संक्रमण हुन्छ। त्यस्तो बेला ज्वरो आउने,पिसाबको धारा सानो आउने र पोल्ने हुन्छ। यस्तो बेलामा लामो समय एन्टिबायोटिक खानुपर्छ।
उमेरजन्य समस्याका विभिन्न चरण हुन्छन्। सामान्य समस्या भएमा पानी खाने र झोलिलो पदार्थहरू खाने तरिकालाई परिवर्तन गर्दा मात्रै पनि राम्रो हुन्छ।
अलि बढी समस्या भएकाहरूलाई औषधी खानुपर्छ। हिजोआज राम्रा-राम्रा औषधी पाइन्छन्।
परीक्षण गर्ने क्रममा औषधीले मात्रै नपुग्ने भयो भने अपरेशन गर्न सुझाव दिन्छौं। थोरैलाई मात्र अपरेशनको जरूरी पर्छ। प्रोस्टेटको समस्या पर्दैमा काँडा झिकेजस्तो हुँदैन। अपरेशन गरेपछि कतिपय अवस्थामा यसका अरू समस्यासमेत देखिन सक्छन्। पिसाब चुहिने समस्या हुनसक्छ।
नेपाल मेडिसिटी अस्पतालमा ५/६ सयलाई अपरेशन गर्दा कसैलाई पनि यो समस्या भएको छैन।
हिजोआज अपरेशन गर्ने नयाँ प्रविधिसमेत आइसकेको छ। चिरफार गरेर अपरेशन गर्ने धेरै कम भइसकेको छ। मुत्र नलीभित्र दूरबिन छिराएर अपरेशन धेरै गरिन्छ। यसका लागिसमेत नयाँ प्रविधिहरू आएका छन्। प्रोस्टेटलाई नकाटीकन बाटो खुकुलो बनाउने प्रविधि पनि उपलब्ध छ।
यो समस्या उमेरजन्य नै हो। कसैलाई वंशानुगत हुन्छ तर यसमा अरू धेरै कुराको भूमिका छैन। मुख्य समस्या उमेर हो। तर उमेर बढेका सबैलाई हुन्छ भन्ने छैन।
(वरिष्ठ युरोलोजिष्ट डा.महेश बहादुर अधिकारी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।)
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १२:१५:००