जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते चितवनमा भएको तोडफोड र आगजनीका घटनामा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता भेटिएको छ।
चितवनका सरकारी, निजी कार्यालय तथा व्यक्तिका घरहरुमा तोडफोड गर्ने व्यक्तिहरु विगतमा लागुऔषध, चोरीदेखि ज्यान मार्ने उद्योगमा संलग्न रहेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोबिन्द पुरीले तोडफोड तथा आगजनी गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्ने लगायत हिंसात्मक गतिविधिमा संलग्न रहेकामध्ये २८ जनालाई नियन्त्रणमा लिइएको बताए।
तीमध्ये अहिले १६ जना प्रहरीको हिरासतमा छन्। १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ। उनीहरु सबैको विषयमा मिहिन अनुसन्धान चलिरहेको एसपी पुरीले बताए।
उनकाअनुसार पक्राउ परेका एक व्यक्तिले यसअघि तीनवटा मुद्दामा जेल भुक्तान गरेका थिए। उनलाई प्रहरीले भरतपुरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा रहेको एटिएम फुटाएको र जिल्लाका विभिन्न सरकारी कार्यालय तोडफोडमा संलग्न रहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरेको हो।
ती व्यक्तिले तीन वर्ष ज्यान मार्ने उद्योगमा सजाय भोगेका थिए। त्यसअघि उनले लागु औषध र अभद्र व्यवहारमा कैद सजाय भोगेका थिए।
अन्य ६ जना व्यक्ति पनि विगतमा चोरी, लागुऔषध, अभद्र व्यवहार लगायतका मुद्दामा सजाय भोगेकाहरु रहेको एसपी पुरीले बताए। एक जनालाई चोरी गरेको सामान र अर्कालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको जानकारी उनले दिए।
पक्राउ परेका अन्य सुरक्षाकर्मीको हातहतियार खोस्ने, चोर्ने, तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिमा संलग्नहरु रहेका छन्।
अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन।
‘हामीले प्राप्त फोटो, भिडिओ तथा अन्य प्रमाणहरुको आधारमा मिहिन अनुसन्धान गरिरहेका छौं। क्षति भएका कार्यालयहरुको विवरण संकलन गरेर अनुसन्धान गरिरहेका छौं। तोडफोडमा संलग्नको विषयमा थप जानकारी प्राप्त भइरहेका छन्,' एसपी पुरीले सेतोपाटीसँग भने, ‘केही व्यक्ति भागेको सूचना पनि हामीसँग छ। अनुसन्धान गर्दै जाँदा धेरै समय लाग्न पनि सक्छ। तर दोषी कोही पनि उम्कन सक्दैन।’
पक्राउ परेकाहरुलाई उनीहरुले गरेको गतिविधि हेरेर अपराधिक उपद्रव, अभद्र व्यवहार, चोरी, लागु औषधलगायतका मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ।
भदौ २४ गते चितवनको माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा तोडफोड गरिएको थियो।
भरतपुरमा जिल्ला प्रशासन, अदालत, सरकारी वकिलको कार्यालय, मालपोत, राजश्व, यातायात, जिल्ला समन्वय समिति, ट्राफिक प्रहरीलगायतका मुख्य सरकारी कार्यालयमा तोडफोड आगजनी गरिएको थियो।
रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका प्रायः सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका थिए।
राजनीतिक दलका कार्यालय र जिल्लाका प्रमुख नेताहरुको निवास पनि आन्दोलनकारीको निसानामा परेका थिए। आन्दोलनकारीले भाटभटेनी सुपरमार्केट, एफएम तथा विभिन्न बैंकका एटिएम समेत तोडफोड गरेका थिए।
एसपी गोविन्द पुरी।
एसपी पुरीले जिल्लाका सरकारी कार्यालयहरुले क्षतिको विवरणसहित भिडिओ पठाएर लुटपाट, आगजनी लगायतमा संलग्नहरुको पहिचान र कारबाहीको लागि अनुरोध गरेको बताए। स्थानीय तहहरुले पनि घटनाको प्रमाण पठाएर कारबाहीको माग गरेका छन्। निजी घर तोडफोड र आगजनी भएका घरधनीहरूले पनि उजुरी दिएको जानकारी पुरीले दिए।
‘प्रहरीले तोडफोड र आगजनीमा संलग्न जोकोही भए पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउँछ,’ एसपी पुरीले भने, ‘पक्राउ परेकाहरूलाई छाड्न भनेर कसैले दबाब दिएको छैन। राजनीतिक दलले त हाम्रै कार्यकर्ता संलग्न रहेछन् भने पनि कारबाही गर्नू भनेका छन्।’
उनले पक्राउ परेको मान्छे कुन कुन ठाउँमा गएको छ, उसको संलग्नता कस्तो छ, भूमिका के छ भन्ने बारेमा हेरेर, अनुसन्धान गरेर मात्रै मुद्दा दर्ता गर्ने बताए।
प्रहरीले २४ गतेको घटनापछि समुदायमा तर्साउने, हातहतियार लिएर हिँड्ने, अराजकता फैलाउने ११ जनालाई पनि नियन्त्रणमा लिएको छ। उनीहरुलाई अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले जेनजी आन्दोलन पछि समाजमा आतंक फैलाउने, तर्साउने, मोटरसाइकलको स्वरुप परिवर्तन गरि ठूलो आवाज निकालेर हिँड्ने व्यक्ति तथा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
तिहारपछि ६१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको एसपी पुरीले बताए। साथै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ३ जना वर्कसप सञ्चालक पनि पक्राउ परेका छन्।