बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले लामो प्रयासपछि एमआरआई मेशिन ल्याएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्या र रोगको निदानलाई ध्यान दिँदै अस्पतालले १२ करोड मूल्य खर्चिएर १ दशमलव ५ टेस्लाको एमआरआई मेशिन ल्याएको हो।
एमआरआई मेशिन खरिदका लागि लुम्बिनी प्रदेश सरकारले विगत ५ वर्षदेखि बजेट विनियोजन गर्दै आएको भए पनि टेन्डर प्रक्रियामा ढिलाइ तथा टेन्डर प्रक्रियापछि पनि सप्लायर कम्पनीहरूले मुद्दा दायर गरेपछि एमआरआई खरिद गर्ने काम हुन सकेको थिएन।
अस्पतालले यसअघि अगाडि बढाएका टेन्डर प्रक्रिया रोकिए पनि चौथो पटकको टेन्डर मार्फत बल्ल मेशिन खरिद गर्न सकेको हो। टेन्डर प्रक्रिया अनुसार मेशिन ल्याउने जिम्मेवारी पाएको लुम्बिनी हेल्थ केयरले कात्तिक १७ गतेदेखि अस्पतालमा मेशिन जडानको काम सुरू गरेको छ। अहिले दुई जना विज्ञसहित चिनियाँ प्राविधिक टोलीले मेशिन जडानको काम गरिरहेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले दुई महिनाभित्रै सेवा दिन मिल्नेगरी पछिल्लो १२ दिनदेखि अस्पतालमा मेशिन जडानको काम सुरू भएको जानकारी दिए। एमआरआई मेशिन एक प्रकारको चुम्बक नै भएकाले त्यसले बाहिर असर नगर्नेगरी सावधानीपूर्वक गर्नुपर्ने भएकाले जडान गर्न समय लाग्ने ढकालले बताए। दुई जना विज्ञसहित चिनियाँ प्राविधिकको टिमले जडानको काम गरिरहेको छ।
ढकालले कलकत्ता बन्दरगाह हुँदै ल्याइएको मेशिनका केही पार्ट्स मात्र अस्पतालमा आइपुगेको र मुख्य मेशिनसहितका बाँकी पार्ट्स एक साताभित्र आइपुग्ने बताए।
‘मेशिनका सामानहरू नै करिब ४ ट्रक हुन्छन्। अहिले पहिलो ट्रकका सामान मात्र आइपुगेका छन्। एमआरआईको मुख्य मेशिन र अन्य पार्ट्स आउन अझै एक साता लाग्छ,’ उनले भने।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएपछि यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरूमा महँगोमा सेवा लिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा लुम्बिनी प्रदेशका मात्र नभई, चितवनदेखि पश्चिम गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कतिपय जिल्ला र भारतबाट समेत उपचारका लागि आउने गर्छन्।
वार्षिक चार लाख हाराहारी बिरामीले उपचार सेवा लिँदै आएको अस्पतालमा दैनिक २० देखि २५ जनासम्म एमआरआई गर्नुपर्ने अवस्थाका बिरामीहरू आउने गरेका छन्। अस्पतालमा एमआरआई मेशिन नभएपछि बिरामीहरूले निजी अस्पतालहरूमा गई चर्को शुल्क तिरेर एमआरआई गराउँदै आएका छन्।
डा. ढकालका अनुसार निजी अस्पतालहरूले १६ देखि १७ हजारसम्म शुल्क लिएर बिरामीहरूको एमआरआई गर्दै आएका छन्। अस्पतालमा एमआरआई जडान भइसकेपछि भने बिरामीहरूले चर्को शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ। निजी अस्पतालले लिएको भन्दा आधा कम शुल्कमा लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा दिन सकिने डा. ढकालले बताए।
रूपन्देहीमा हाल भैरहवा मेडिकल कलेज, देवदह मेडिकल कलेज र बुटवलमा गरी तीनवटा निजी अस्पतालमा एमआरआई सेवा रहेको छ। एमआरआईका लागि कतिपय बिरामीहरू काठमाडौं, चितवन तथा भारतका अस्पतालमा समेत जाने गरेका छन्।
डा. ढकालका अनुसार दुर्घटनामा परी टाउको तथा शरीरका अन्य अंगमा चोटपटक लाग्दा, ट्युमर, पेटको समस्या तथा ढाडको नसा च्यापिएको अवस्थामा एमआरआई अनिवार्य हुने गरेको छ।
लुम्बिनी प्रदेशकै ठूलो र उपचारका लागि दैनिक दुई हजारसम्म बिरामी आउने भएकाले सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई पूरा गर्न अस्पतालको सेवालाई विशिष्टीकृत गर्दै लगिएको समेत डा. ढकालले बताए। डा. ढकालले एमआरआई मेशिन जडानसँगै नयाँ सीटी स्क्यान मेशिन खरिदका लागि समेत प्रक्रिया अगाडि बढाउन लागिएको बताए।
हाल अस्पतालमा रहेको १६ स्लाइसको सात वर्ष पुरानो सीटी स्क्यान मेशिन पुरानो र बारम्बार बिग्रिने समस्याले बिरामीहरूको उपचारमा समस्या भइरहेको छ। एमआरआई मेशिन जडानपछि १२८ स्लाइसको सिटी स्क्यान मेशिनको खरिद प्रक्रिया अगाडि बढाइने छ। सीटी स्क्यान मेशिन खरिदका लागि संघीय सरकारले बजेट छुट्टाएको छ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्तर वृद्धिका लागि भवन निर्माण गरिरहेको र भवन निर्माण भएपछि अस्पताल १२ सय शैयामा स्तर वृद्धि हुने भएकाले सेवा प्रवाहलाई पनि सोही अनुसार वृद्धि गर्दै जानुपर्ने आवश्यकता रहेको डा. ढकालले बताए।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि सारेर सवा ६ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक सुविधा सहितको १२ तलाको भवन निर्माणको काम गरिरहेको छ।