सिरहामा एक जना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाको छानबिन गर्न समिति बनेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो।
समितिमा पाँच जना रहेको प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार श्रेष्ठले जानकारी दिए। समितिमा प्रहरी निरीक्षक राजकुमार कार्कीसहित अन्य अधिकृतहरू छन्।
बुधबार जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको थियो।
छानबिन समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको एसपी श्रेष्ठले बताए।
‘समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन भनिएको छ। त्यसको लागि समितिका सदस्यहरू सिरहा हिँडिसक्नुभयो। बाटोमै हुनुहुन्छ,’ उनले भने, ‘घटना के भएको हो भन्नेबारे विस्तृत बुझ्न भनिएको छ। भिडिओ हामीले पनि हेर्दा अमानवीय नै जस्तो छ। तर देखिएको जस्तो नहुन पनि सक्छ।’
ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताएका छन्।
यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक-फरक जानकारी दिइरहेको छ।
कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताएका थिए।
तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।
प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ।
‘उसले ड्युटी जाँदैन भन्यो। हाम्रो ड्युटीवाला प्रहरीको हतियार खोस्ने प्रयास गर्यो। हतियार खोस्न सकेन, बाहिर निस्केर भाग्यो। मर्छु जान्छु भनेर गयो। प्रहरीले पाँच सय मिटर पर गरेर नियन्त्रणमा लियो। हतकडी लगाएर उनलाई कस्टडीमै लिएर आयौं किनभने ब्यारेकमै छोडदिएको भए केही घटना गर्न सक्छ भन्ने आशंका भयो,’ उनले भने।
उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरे।