अमेरिकाको जर्जिया राज्यमा कुनै बेला उनका पुर्खालाई दास बनाएर राखिएको थियो।
उनका हजुरबुबाले नै जर्जियाको गाउँबाट आउँदा एट्लान्टाका केही भवनमा प्रवेश गर्न अगाडिको ढोका प्रयोग गर्न पाउँदैनथे। पछाडिको ढोकाबाट भित्र जानुपर्थ्यो।
तर तिनै पुर्खाकी सन्तान केइशा लान्स बटम्स अब जर्जियाको सर्वोच्च कार्यकारी पदमा पुग्दै छिन्।
मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा ५६ वर्षीया बटम्स जर्जियाको गभर्नर निर्वाचित भएकी छन्। उनी अमेरिकाको इतिहासमा कुनै पनि राज्यको गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला हुन्।
बटम्सले रिपब्लिकन पार्टीका अर्बपति व्यवसायी रिक ज्याक्सनलाई पराजित गरेकी हुन्। यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन पार्टीको गभर्नर पदमाथिको नियन्त्रण पनि अन्त्य भएको छ।
जर्जियाले यसअघि न कुनै महिलालाई गभर्नर चुनेको थियो, न कुनै अश्वेत व्यक्तिलाई नै।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार चुनावी अभियान क्रममा बटम्सले आफूले इतिहास रच्न सक्ने सम्भावनाभन्दा सर्वसाधारणको आर्थिक समस्या र आफ्नो भावी योजनालाई प्राथमिकतामा राखेकी थिइन्।
उनको जितको ऐतिहासिक महत्त्व अमेरिकी राजनीतिभन्दा निकै परसम्म फैलिएको छ। विशेषगरी अश्वेत समुदाय र महिलाहरूका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि बनेको छ।
जितको घोषणा भएपछि एटलान्टामा आयोजित कार्यक्रममा उनका समर्थकहरू 'केइशा! केइशा!' भन्दै नारा लगाइरहेका थिए।
बटम्सले समर्थकहरूलाई सम्बोधन गर्दै आफूलाई मत नदिने नागरिकहरूको पनि गभर्नर बन्ने प्रतिबद्धता व्यक्त गरिन्।
'आज तपाईंहरूले जसलाई मतदान गर्नुभएको भए पनि म सम्पूर्ण जर्जियाको गभर्नर हुनेछु,' उनले भनिन्।
एपीका अनुसार उनले चुनावी परिणामलाई शिक्षक, किसान, व्यवसायी र सामान्य नागरिक सबैको जितका रूपमा प्रस्तुत गरिन्।
दासप्रथादेखि गभर्नरको कार्यालयसम्म
बटम्सको जितलाई बुझ्न अमेरिकी इतिहासको एउटा अध्यायमा फर्किनुपर्छ।
अमेरिकाको दक्षिणी राज्य जर्जिया कुनै बेला दासप्रथाको केन्द्रमध्ये एक थियो। अश्वेत मानिसलाई सम्पत्तिका रूपमा किनबेच गरिन्थ्यो। उनीहरूलाई राजनीतिक अधिकार मात्र होइन, सामान्य नागरिकसरह जीवन बिताउने स्वतन्त्रता समेत थिएन।
बटम्सको पारिवारिक इतिहास पनि त्यही दासप्रथासँग जोडिएको छ।
एपीका अनुसार चुनावी अभियान क्रममा उनले आफू कम्तlमा पाँचौं पुस्ताकी जर्जियावासी भएको बताएकी थिइन्।
उनले आफ्नो परिवारको वंशावली पाँच पुस्ताभन्दा पछाडि पत्ता लगाउन नसकिएको उल्लेख गर्दै ती पुर्खाको इतिहास जर्जियाको क्रफोर्डभिलस्थित एउटा बगानसम्म पुग्ने बताएकी थिइन्।
उनका हजुरबुबा ग्रामीण जर्जियाबाट एटलान्टा सरेका थिए।
त्यति बेला जातीय विभेदका कारण उनी केही भवनमा अगाडिको ढोकाबाट प्रवेश गर्न पाउँदैनथे। तर पछि उनकी नातिनी बटम्स एटलान्टाको मेयर बनिन् र तिनै भवनमा मुख्य प्रवेशद्वारबाट जान सक्ने पदमा पुगिन्।
यो पारिवारिक कथा बटम्सले आफ्नो चुनावी अभियानमा पनि सुनाएकी थिइन्।
अब उनी एउटै सहरको नेतृत्वबाट अघि बढेर पूरै राज्यको नेतृत्वमा पुग्दै छिन्।
जर्जियाबाट प्रकाशित 'द एटलान्टा जर्नल–कन्स्टिच्युसन' ले उनको विजयलाई अमेरिकी इतिहासमा लामो समयदेखि कायम राजनीतिक अवरोध पार गरेको घटनाका रूपमा चित्रण गरेको छ।
उनको सफलताको अर्को विशेषता छ—यो अमेरिको त्यस्तो राज्यमा सम्भव भएको हो, जहाँ दासप्रथा र त्यसपछिको संस्थागत जातीय विभेदको लामो इतिहास छ।
बाल्यकालको संकटदेखि एटलान्टाको मेयरसम्म
बटम्सको व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण रह्यो।
उनका बुबा मेजर लान्स अमेरिकाका चर्चित सोल गायक थिए। एक समय परिवारको आर्थिक अवस्था राम्रो थियो। तर बुबाको सांगीतिक करिअर ओरालो लाग्दै जाँदा परिवारमा समस्या बढ्न थाल्यो।
द एटलान्टा जर्नल–कन्स्टिच्युसनका अनुसार बटम्स ८ वर्षकी हुँदा प्रहरीले उनका बुबालाई लागुऔषध कारोबारसम्बन्धी अभियोगमा पक्राउ गरेको थियो।
उनी जेल गए। परिवारले आफ्नो घर समेत गुमायो।
तर बटम्सले पढाइ छाडिनन्।
उनले फ्लोरिडा एएन्डएम विश्वविद्यालयबाट स्नातक गरिन् र जर्जिया स्टेट विश्वविद्यालयबाट कानुनको डिग्री हासिल गरिन्।
त्यसपछि उनले सरकारी वकिल र न्यायाधीशका रूपमा काम गरिन्।
सन् २००९ मा एटलान्टा नगर परिषद सदस्य निर्वाचित भएसँगै उनको राजनीतिक यात्रा अघि बढ्यो। सन् २०१७ को मेयर निर्वाचन जितेपछि उनी सन् २०१८ देखि २०२२ सम्म एटलान्टाकी मेयर रहिन्।
मेयरका रूपमा उनको कार्यकाल सजिलो थिएन।
कोरोना महामारी, अपराधका घटना र प्रहरी हिंसाविरूद्धका प्रदर्शनले एटलान्टा अशान्त बन्यो।
सन् २०२० मा अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रण क्रममा मृत्यु भएपछि अमेरिकाभरि विरोध प्रदर्शन चर्किएको थियो। एटलान्टामा पनि प्रदर्शनहरू भए। त्यही वर्ष एटलान्टामा प्रहरीको गोलीबाट रेशार्ड ब्रुक्सको मृत्यु भयो। त्यसपछिका प्रदर्शन र हिंसात्मक घटनाले नगर प्रशासनको आलोचना बढायो।
बटम्समाथि शान्तिसुरक्षा कायम गर्न नसकेको आरोप लाग्यो। तर उनले प्रहरी र अग्निनियन्त्रकहरूको पारिश्रमिक वृद्धि, बजेट व्यवस्थापन तथा महामारीका बेला नागरिक र व्यवसायलाई सहयोग गरेको भन्दै आफ्नो कार्यकालको बचाउ गरिन्।
सन् २०२१ मा उनले दोस्रो कार्यकालका लागि मेयर निर्वाचन नलड्ने घोषणा गरिन्।
पछि उनी राष्ट्रपति जो बाइडेनको प्रशासनमा सार्वजनिक सम्पर्क कार्यालयकी निर्देशक तथा वरिष्ठ सल्लाहकार बनिन्।
त्यसपछि फेरि जर्जियाको गभर्नर पदका लागि प्रतिस्पर्धामा फर्किएकी हुन्।
एकातिर अर्बपति, अर्कातिर पूर्वमेयर
बटम्सका प्रमुख प्रतिस्पर्धी रिक ज्याक्सन स्वास्थ्य सेवा क्षेत्रमा व्यवसाय गरेर अर्बपति बनेका व्यक्ति हुन्।
उनले चुनावी अभियानमा आफूलाई परम्परागत राजनीतिभन्दा बाहिरबाट आएको उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। कर कटौती, रोजगारी सिर्जना, सार्वजनिक सुरक्षा र सरकारी नियमन घटाउने उनका प्रमुख एजेन्डा थिए।
ज्याक्सनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन थियो। तर उनको सबभन्दा ठूलो कुरा चुनावमा खर्च गरिएको रकम थियो।
एपी र द एटलान्टा जर्नल–कन्स्टिच्युसनका अनुसार ज्याक्सनले चुनावी अभियानमा आफ्नो व्यक्तिगत सम्पत्तिबाट २० करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका थिए।
उनले बटम्सको मेयर कार्यकाललाई चुनावी मुद्दा बनाए। खासगरी अपराध नियन्त्रण र हिंसात्मक प्रदर्शनका बेला उनको भूमिकामाथि प्रश्न उठाए।
बटम्सले भने सर्वसाधारणको जीवनयापन खर्च, स्वास्थ्य सेवा र संघीय सरकारका नीतिलाई प्रमुख चुनावी मुद्दा बनाइन्।
पूर्वराष्ट्रपति बाराक ओबामाले उनको पक्षमा चुनावी सभा गरे। डेमोक्र्याटिक सिनेटर जोन ओसोफले पनि उनीसँगै प्रचारप्रसार गरे।
बेलायती पत्रिका 'द गार्डियन' का अनुसार चुनाव नजिकिँदै गर्दा जर्जियामा प्रतिस्पर्धा तीव्र भएको थियो। अर्बपति ज्याक्सनलाई बलियो प्रतिस्पर्धी मानिए पनि अन्ततः मतदाताले बटम्सलाई रोजे।
पराजय स्वीकार गर्दै ज्याक्सनले मतदाताको निर्णयलाई सम्मान गर्ने बताए।
यसरी ठूलो व्यक्तिगत खर्च र राष्ट्रपतिको समर्थनका बाबजुद ज्याक्सन पराजित भए।
बटम्सभन्दा पहिले दुई पटक असफल भएकी थिइन् अर्की अश्वेत महिला
जर्जियामा अश्वेत महिलालाई गभर्नर बनाउने प्रयास यो पहिलो थिएन।
सन् २०१८ मा डेमोक्र्याटिक पार्टीबाट स्टेसी अब्राम्स गभर्नरको उम्मेदवार बनेकी थिइन्। उनी अमेरिकाको प्रमुख राजनीतिक दलबाट गभर्नरको उम्मेदवारी पाउने पहिलो अश्वेत महिला थिइन्।
उनी रिपब्लिकन उम्मेदवार ब्रायन केम्पसँग पराजित भइन्।
सन् २०२२ मा अब्राम्स फेरि प्रतिस्पर्धामा ओर्लिइन्। दोस्रो पटक पनि केम्पले नै उनलाई हराए।
अब्राम्स पराजित भए पनि उनको अभियानले जर्जियामा मतदाता परिचालनको नयाँ आधार तयार पारेको समाचार संस्था रोयटर्सले जनाएको छ।
उनको अभियानले अश्वेत, युवा र विभिन्न समुदायका मतदातालाई संगठित गर्न सहयोग पुर्याएको थियो।
सन् २०२० को राष्ट्रपति निर्वाचनमा जर्जियाले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई जितायो। त्यसअघि लामो समयसम्म राष्ट्रपति निर्वाचनमा रिपब्लिकनहरूको बलियो पकड रहेको राज्यमा यो महत्त्वपूर्ण परिवर्तन थियो।
तर सन् २०२४ मा डोनाल्ड ट्रम्पले जर्जिया जिते।
यसले जर्जिया अब कुनै एउटा दलको सुरक्षित राज्य नभई कडा प्रतिस्पर्धा हुने राजनीतिक क्षेत्र बनेको देखाउँछ।
रोयटर्सका अनुसार अश्वेत मतदाता जर्जियामा डेमोक्र्याटिक पार्टीको महत्त्वपूर्ण आधार हुन्। बटम्सको विजयमा उनीहरूको राजनीतिक सहभागिताले पनि भूमिका खेलेको छ।
इतिहास रचेपछि अबको चुनौती
बटम्स गभर्नर निर्वाचित त भएकी छन्, तर उनका सबै चुनावी प्रतिबद्धता पूरा गर्न सजिलो हुने छैन।
उनले कम आय भएका नागरिकका लागि मेडिकेड स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने, न्यूनतम पारिश्रमिक प्रतिघण्टा १५ डलर पुर्याउने र सरकारी कर्मचारीको पारिश्रमिक बढाउने योजना अघि सारेकी छन्।
त्यस्तै, गर्भावस्थाको करिब छ सातापछि गर्भपतनमा लगाइएको प्रतिबन्ध हटाउने र नयाँ डेटा सेन्टर निर्माणमा अस्थायी रोक लगाउने उनको चुनावी एजेन्डा थियो।
यीमध्ये धेरै योजना कार्यान्वयन गर्न राज्य व्यवस्थापिकाको समर्थन चाहिन्छ। जर्जियाको राज्य व्यवस्थापिकामा रिपब्लिकनहरूको प्रभाव अझै बलियो छ।
द एटलान्टाले अब बटम्सको मुख्य चुनौती निर्वाचन जित्नुभन्दा राज्य सञ्चालन गर्ने क्रममा आवश्यक राजनीतिक सहमति जुटाउनु हुने उल्लेख गरेको छ।
उनले रिपब्लिकन गभर्नर ब्रायन केम्पको स्थान लिने छिन्। केम्प लगातार दुई कार्यकाल पूरा गरेकाले पुनः उम्मेदवार बन्न पाएका थिएनन्।
बटम्सको जितले अमेरिकी इतिहासमा नयाँ अध्याय थपेको छ। उनको जितले विशेषगरी अश्वेत महिलामा उत्साह जगाएको छ।
एपीका अनुसार जर्जियाको क्लेटन काउन्टीमा अश्वेत नागरिक अधिकार संगठन एनएएसlपीकी अध्यक्ष साइनामन बाल्डविनले बटम्सको जितको समाचार सुनेपछि आफ्नो घर जाने बाटो नै बदलिन्।
उनी विजय उत्सवमा सहभागी हुन एटलान्टा पुगिन्।
उनले एपीलाई आफू यो ऐतिहासिक क्षणको साक्षी बन्न चाहेको बताइन्, ताकि भविष्यमा आफ्ना नातिनातिनालाई आफू पनि त्यहाँ उपस्थित रहेको सुनाउन सकियोस्।
***