जीवनको २३औँ वर्ष पूरा गरेर २४औँ वर्षमा प्रवेश गरेपछि जन्मदिनका शुभकामनासँगै एउटा प्रश्न पनि बारम्बार सुन्न पाइयो ।
‘अब बिहे गर्ने बेला भएन र?’
कसैले हाँस्दै जिस्किएर सोध्नुहुन्छ, कसैले मायाले सम्झाउनुहुन्छ त कसैले गम्भीर भएरै सल्लाह दिनुहुन्छ। प्रश्न सुन्दा सामान्य लाग्छ, तर बारम्बार सुनिएपछि यसले सोच्न भने बाध्य बनाउँछ।
हाम्रो समाजमा उमेर बढ्दै जाँदा पढाइ, जागिर, व्यवसाय र करियरका कुरासँगै विवाहको विषयले पनि प्राथमिकता पाउन थाल्छ। विशेष गरी २३–२४ वर्षको उमेर पुगेपछि परिवार, आफन्त र शुभचिन्तकहरूको चासो एउटै प्रश्नमा आएर अडिएको जस्तो लाग्छ ।
‘अब घरजम कहिले गर्ने?’
विवाह जीवनको एउटा सुन्दर र महत्त्वपूर्ण सम्बन्ध हो। तर मेरो बुझाइमा यो उमेर पुगेपछि पूरा गर्नुपर्ने सामाजिक औपचारिकता मात्र होइन। विवाह भनेको दुई व्यक्तिबिचको विश्वास, समझदारी, सम्मान र जिम्मेवारीको साझा यात्रा हो। जीवनका सुख–दुःखमा एकअर्काको साथ निभाउने, एकअर्काका सपना र भावनालाई बुझ्ने प्रतिबद्धता पनि हो।
त्यसैले विवाहको निर्णय केवल उमेरका आधारमा होइन, मन, परिस्थिति र आपसी समझदारीका आधारमा हुनु आवश्यक छ।
विवाह महत्त्वपूर्ण छ, तर त्यसअघि आफूलाई चिन्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। आफूले जीवनबाट के चाहेको हो भन्ने बुझ्नु, आफ्नो भविष्यको बाटो पहिल्याउनु, आर्थिक र मानसिक रूपमा सक्षम बन्ने प्रयास गर्नु, अनि आफ्ना केही सपना पूरा गर्न अघि बढ्नु यी सबै जीवनका महत्त्वपूर्ण पक्ष हुन्। आफूलाई बुझ्ने र आफ्नै खुट्टामा उभिने प्रयासले भविष्यका सम्बन्धलाई पनि अझ स्वस्थ र बलियो बनाउन सक्छ भन्ने लाग्छ।
अहिलेको समय मेरो लागि आफूलाई स्थापित गर्ने, नयाँ सम्भावनाहरू खोज्ने, अनुभवबाट सिक्ने र जीवनमा केही अर्थपूर्ण काम गर्ने समय हो। जिम्मेवारीहरू बुझ्दै, आफ्ना लक्ष्यहरूतर्फ अघि बढ्दै र आफूलाई अझ राम्रो बनाउँदै जाने चरणमा छु। विवाहलाई अस्वीकार गरेको होइन केवल त्यसका लागि सही समय, सही व्यक्ति र सही परिस्थिति महत्त्वपूर्ण हुन्छन् भन्ने मेरो मान्यता हो।
मलाई लाग्छ, ‘विवाह कहिले गर्ने?’ भन्ने प्रश्नभन्दा पनि ‘कससँग गर्ने?’, ‘किन गर्ने?’ र ‘सँगै भएर जीवनलाई कसरी अझ सुन्दर बनाउने?’ भन्ने प्रश्नहरू बढी अर्थपूर्ण छन्। विवाह दुई परिवार जोडिने अवसर पनि हो, तर सबैभन्दा पहिले यो दुई व्यक्तिले एकअर्कालाई बुझ्ने, सम्मान गर्ने र साथ दिने सम्बन्ध हो। यस्तो निर्णय हतारमा वा अरूको अपेक्षा पूरा गर्नका लागि होइन, आफू तयार भएको महसुस भएपछि गर्नु नै उचित हुन्छ।
त्यसैले २३ वर्ष पूरा भएपछि आइरहेको यो प्रश्नको जवाफ अहिले यति नै छ। बिहे पनि होला, घरजम पनि होला, जीवनसाथी पनि भेटिएला। तर हतारमा होइन, समझदारीमा दबाबमा होइन, आफ्नै तयारी र सही निर्णयका आधारमा। समय आएपछि त्यो निर्णय पनि आफ्नै तरिकाले मनदेखि गरौँला।
अन्ततः जीवन कुनै दौड होइन, जहाँ अरूभन्दा अगाडि पुग्नै पर्छ। सबैको समय, परिस्थिति र यात्रा फरक फरक हुन्छ। कसैको प्राथमिकता पढाइ होला, कसैको करियर, कसैको परिवार र कसैले यी सबै कुरा आफ्नै गतिमा अघि बढाइरहेको होलान्। अरूको यात्रासँग आफ्नो यात्रा तुलना गर्नुभन्दा आफ्नो बाटोमा विश्वास गर्दै अघि बढ्नु नै महत्त्वपूर्ण हो।
अहिलेको प्राथमिकता आफू बन्ने, केही गर्ने र आफ्नो पहिचान स्थापित गर्ने हो। विवाहको समय पनि आफ्नै सही समयमा अवश्य आउला । त्यति बेला त्यो केवल समाजको प्रश्नको जवाफ नभई, जीवनको सुन्दर निर्णय बनोस्।