तिम्रा फुलेको केशमा
सुखका रङ्गिन कलरले हाइलाइट गर्न
पावर बढेका ती गोला र मोटो चस्माको सिसामा
सुनौला सपना गाँस्ने अप्टिसिएन खोज्न
मनको गाग्रीमा चिसो पानी भर्न
आज म तातो मरुभूमिमा छु आमा
तिम्रा पीडा घटाउने सक्ने क्यालकुलेटर
चित्त नदुख्ने सिटामोल
एक चुट्कीमै सारा दुःख गायब गरिदिने जादुगर
फुटेका हिम्मत फेरि जोड्न मिल्ने भ्यासलिन किन्न
र तिम्रो आँसु पुछ्न म पसिना बगाउँदै छु आमा
तिमीले सधैँ भन्ने गर्थ्यौ आमा
आफू भोकै भए पनि
म अघाएको देखेर तिमी आफैँ अघाउँछौ
आज म यो दुनियाँदेखि अघाएको छु आमा
तर हरेस भने अझै खाएको छैन
किनकि भोक र शोक त जीवनकै पाटो हुन्।