अपरिचित सहरको यो हरियो बगैँचामा
ढुंगाको मेचमाथि एउटा नीलो बोतल
चुपचाप उभिएको छ
लाग्छ, परदेशले मेरो हातमा
सानो आकाश थमाइदिएको छ
बोतलभित्र पानी छ, तर देखिँदैन
देखिन्छ त मेरो गाउँको त्यो बाटो
जहाँ मेरो आवाजसँगै जोडिएका
दुई–चार जोडी आँखाहरू
मेरो बाटो हेरेर बस्थे।
बाइक लिएर घर फर्किँदा
ढोकासम्म आइपुग्ने ती अबोध कुकुरहरू
पुच्छर हल्लाउँदै कति कुरा भन्थे।
तर आज उनीहरूको मौनता नै
मेरो मनमा सबैभन्दा ठुलो आवाज बनेको छ।
बेलाबेला म यो बोतलमा कोरिएको
टाढा देशको फुटबल खेलाडीलाई हेर्छु र सोच्छु—
कसैको तस्बिर बोकेको यो बोतल
मेरो आफ्नै तस्बिरजस्तो किन लाग्छ?
सायद, परदेशमा हामी सबै
आ–आफ्नै जीवनको मैदानमा दौडिरहेका हुन्छौँ।
तर गोल जहाँ गरे पनि
मन भने घरकै पोस्टतिर फर्किरहन्छ।
वुहान, चीनको यो अपरिचित आकाशमुनि
मसँग यही एउटा नीलो बोतल छ
केही अधुरा सपना छन्
जन्मघर सम्झाउने आँखाहरू छन्
आफन्त र साथीभाइका सम्झनाहरू छन्।
बाइकको आवाज सुनेर ढोकासम्म आइपुग्ने
कुकुरहरूको भुकाइ
मनभित्र कतै बजिरहेछ।
त्यति बेला लाग्छ
शरीर निकै टाढा पुगेछ
मन भने घर सम्झेर अमिलो भइरहेछ
मनको आधा आकाश अझै नेपालमै छ।
यहाँ माटो छ, रुखहरू छन्
हावा छ, मान्छेहरू छन्
चन्द्र–सूर्य पनि उस्तै छन्
केवल यहाँ
प्रतीक्षामा बसेका
कुनै परिचित आँखाहरू छैनन्।
तर चन्द्र–सूर्यले
मलाई कहिल्यै निराश हुन सिकाएनन्
आफू पूर्ण चम्किएर
अरूलाई उज्यालो दिन सिकाए।
मध्यशरदको रातमा
जब चन्द्रमा चम्किँदै
संसारभरि उज्यालो छर्छ
त्यति बेला सम्झिन्छु—
यही चन्द्रमा मेरो घरमाथि पनि उदाएको होला।
चन्द्र-सूर्यले मलाई एउटा कुरा सिकाए
दूरीले टाढा हुनु भनेको, सम्बन्ध टाढा हुनू होइन
मनको सम्बन्ध, दूरीले टाढा बनाउन सक्दैन
परदेशले मलाई विद्यार्थी बनायो
तर घरले मलाई आफ्नै मान्छे सम्झिरहेको छ।