हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
कमलादेवी कार्कीले बुटवल–१७ रानीगन्जमा फलफूल, तरकारी र विद्युत्का सामग्रीको पसल चलाउँछिन्।
केही दिनअघि उनी पसलमा हरियो धनियाँ केलाउँदै थिइन्।
हामीले उनलाई सोध्यौं —
पहिले तपाईं आफ्नो बारेमा भन्नुस् न। तपाईं कहाँ बस्नुहुन्छ, घरमा को को हुनुहुन्छ?
मेरो घर यहीँ नजिकै रानीगन्जमै छ। घरमा दुई छोरा–बुहारी, चार जना नाति–नातिनी छन्। तीन जना छोरीहरू सबैको बिहे भइसक्यो।
रानीगन्जमा बस्न थाल्नुभएको कति वर्ष भयो?
यहाँ बस्न थालेको र पसल चलाउन थालेको १७ वर्ष भयो। पहिले मोतीपुरमा बस्थ्यौं। यहाँ सुकुम्बासीमा घडेरी कुर्ने भनेर आएका हौं। यतै घर बनाएर बसेका छौं।
मोतीपुरमा पनि नहरको जग्गामा बस्थ्यौं। त्यहाँको छाप्रो फालिदिएपछि यहाँ आएका थियौं। यहाँ पनि अहिलेसम्म लालपुर्जा पाइएको छैन।
सरकारले लालपुर्जा कहिले दिने भनेको छ?
खोइ, केही थाहा छैन। हामी बस्दा सुकुम्बासी जग्गा भनेर बसेका थियौं। अहिले यो जग्गा औद्योगिक क्षेत्रको नाममा छ भन्छन्। लालपुर्जा पाइन्छ, पाइँदैन, केही थाहा छैन। सानो घर बनाएका छौं।
घरव्यवहार कसरी चलेको छ? पसलबाट कति कमाइ हुन्छ?
पसल सानो छ। दिनमा दुई–तीन हजार, कहिलेकाहीँ चार–पाँच हजार रूपैयाँसम्मको व्यापार हुन्छ। त्यसबाट कति नाफा निस्किन्छ र! पसलबाट भएको आम्दानी र छोराहरूले पनि घरखर्चलाई सहयोग गर्छन्। घरखर्च जसोतसो चलेको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
मेरो आफ्नो र परिवारको कुनै चिन्ता छैन। मेरो बहिनी बोल्न र सुन्न नसक्ने छिन्। उनैको चिन्ता लाग्छ। आमा, बुबा, दाजुभाइ कोही छैनन्। बिहे भएको थियो। अहिले बुढा, छोराछोरी कोही पनि छैनन्। तिनैको चिन्ता लाग्छ।
अहिले कसले रेखदेख गरेको छ?
यहीँ नजिकै सानो घर बनाएर राखिदिएका छौं। ज्वाइँ पहिले धागो कारखानामा काम गर्नुहुन्थ्यो। त्यहीँबाट पाएको पैसा बैंकमा राखिदिएका छौं। त्यसैको ब्याजले घरखर्च चलाएकी छिन्।
बाहिर यताउता हिँड्दिनन्। घरमा पकाउँछिन्, खान्छिन्। बोल्ने, सुन्ने नभए पनि हातको इशाराले आफूलाई चाहिने सबै काम गर्छिन्। म छँदासम्म त बाहिरबाट भए पनि रेखदेख गरूँला। उनीभन्दा पहिले म केही भइहालेँ भने उनको के होला भन्ने त्यही चिन्ता छ मलाई।
तपाईंका घरका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
कान्छो छोरा विदेश (पोर्चुगल) गइसकेका छन्। जेठो छोरा अहिलेसम्म यहीँ काम गरिरहेका छन्। पछि उनले पनि के गर्छन्, थाहा छैन। मेरा छोरीतर्फका नातिहरू पनि केही विदेश गइसकेका छन्।
अहिलेका तन्नेरीहरू किन विदेश जान खोज्छन् होला?
खोइ, विदेशमा राम्रै कमाउने भएर त होला। मेरो कान्छो छोरा यहीँ बिजुलीको काम गर्थे। उनलाई विदेश नजाऊ, यहीँ काम गर भनेकी थिएँ। मानेनन्। तपाईंले रोकेर हो, अहिलेसम्म गएर कति कमाइसक्थेँ भनेपछि बस् भनेर रोकिनँ। उनी गएको तीन वर्ष भयो। राम्रै कमाइ भएको छ होला।
पोहोर साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
मलाई त त्यति बेला देश अब सकियो भन्ने लागेको थियो। त्यस्ता बच्चाहरूलाई गोली हानेर मारेपछि अब देश सकियो, सबैलाई मार्छन् भन्ने लागेको थियो।
त्यतिखेर युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
त्यतिखेरको सरकारसँग त रिसाएका होलान् नि। समाचारमा पनि त्यो बेलाका प्रधानमन्त्री केपी ओलीसँग रिसाएर आन्दोलन भएको थियो भन्ने सुनिन्थ्यो। युवाहरूले राखेका मागहरू सरकारले पूरा नगरेपछि आन्दोलन भएको हो भन्छन्।
युवाहरूले के माग राखेका थिए भन्ने त मलाई थाहा छैन। उनीहरूले चाहेजस्तो सरकारले गर्न नसकेपछि आन्दोलन भएको हो कि!
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठीक लाग्यो, के कुरा बेठीक लाग्यो?
आन्दोलनमा त सबै नराम्रो भयो। मान्छे मार्ने, आगो लगाउने, तोडफोड गर्ने, के राम्रो भयो र! आन्दोलनमा केही राम्रो भएन, जे भयो सबै नराम्रो मात्र भयो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
आन्दोलनपछि सबै राम्रो त भइसकेको छैन। काम गर्नेहरूले काम नगरी केही भएको छैन। काम गरेर पनि बाँच्न सक्ने अवस्था छैन। तर राम्रो होला।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
देश राम्रो नभई त हुँदै भएन नि। आजभन्दा भोलि त राम्रो हुनै पर्यो। नयाँ सरकार आएको छ। सरकारमा पनि सबै युवाहरू छन्, पक्कै राम्रो हुन्छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
मेरो परिवारमा पनि राम्रै होला भन्ने आशा छ। सरकारले लालपुर्जा दिए अहिले छाप्रो हालेको ठाउँमा ऋण गरेर भए पनि घर बनाउन हुन्थ्यो। छोराहरूले पनि ऋण निकालेर काम गर्न पाउँथे।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
अहिलेको सरकारले राम्रै गरेको जस्तो लाग्छ। कति ठूलो बाढीपहिरो आयो, कति मान्छे मरे। उनीहरूको उद्धार गर्ने, राहत वितरण गर्ने काममा सरकार कसरी खटियो। गृहमन्त्री त आफै बोरा बोकेर बाढीपहिरो पीडितलाई भेट्न पुगेको भिडिओ आएको थियो। सरकारले राम्रो गरेको छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
अहिलेको सरकारले समस्यामा परेका जनताका कुरा सुनेको छ, त्यो राम्रो लागेको छ। गर्न नसकेका काम पनि धेरै छन्। अब हामीजस्ता कहीँ केही नभएका जनतालाई लालपुर्जा दिए हुन्थ्यो।
सरकारले मुख्य काम भ्रष्टाचार हुन दिनुभएन। जसले भ्रष्टाचार गर्छ, घुस दिएर गलत काम गर्न लगाउँछ, त्यस्तालाई कारबाही गर्न सक्नुपर्छ।
जेनजी आन्दोलनपछि पुराना पार्टी र नेताहरू सुधारिए कि उस्तै छन्?
खोइ, पुराना पार्टी र नेताहरू के सुध्रिएलान् र! कोही कोही सुध्रिन्छन् कि जस्तो लाग्छ। कोही कोही त कहिल्यै सुध्रिँदैनन्। अझै पनि नयाँले केही गर्न खोज्दा खुट्टा तान्न खोज्छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
देशलाई सही बाटोमा अहिले सरकारमा रहेको पार्टीले लैजान्छ कि भन्ने लाग्छ। हामीले पनि त्यही आशाले भोट दिएको हो। त्यही अनुसार सुरूदेखि नै राम्रो काम गरिरहेको छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
मलाई आशा लागेका नेताहरू रवि लामिछाने, बालेन, सुधन गुरूङ यी नै हुन्।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
यी नेताहरू सबै युवा छन्। देशमा केही काम गरौं भन्ने जोस छ। उनीहरूले देशलाई नराम्रो गर्दैनन् भन्ने लाग्छ। हामीले यति विश्वास गरेका नेताहरूले जनताको विश्वास नतोडून्। देशका लागि राम्रो काम मात्र गरून् भन्न चाहन्छु।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्