विदेशमा बसेको मान्छेलाई कहिलेकाहीँ आफ्ना आफन्त, साथीभाइसँग फोनमा नै भए पनि छोटो कुरा गर्न पाउँदा मनमा खुसी र उमङ्गको वर्षात् हुने रहेछ। त्यो पनि चाडपर्वको समयमा त अमृत पिएसरह हुने।
धेरै समयपछि शनिबारको दिन आफ्नै गाउँले दाजुसँग दुःख–सुखका कुराहरू साटियो। सुरुमा हालखबर सोधेर हाँसीमजाक गर्दै कुरा गम्भीरतातर्फ मोडियो। फरक भाषा, फरक संस्कृतिमा लड्दै, सिक्दै, उठ्दै, दौडँदै गरेको म आफ्ना कुराहरू दाजुसमक्ष सेयर गर्दै थिएँ।
धेरै पढेका, कम पढेका सबै किन बिदेसिन थाले? आखिर युवाले देशमा भविष्य देखेनन् भन्ने मेरो जिज्ञासाको जवाफ दाजुले साट्दै हुनुहुन्थ्यो।
यत्तिकैमा उहाँले आफ्नो विगत र गाउँ–समाजको परिवेशबारे यसरी सुरु गर्नुभयो।
‘आजभन्दा ३०–४० वर्षअगाडिको हाम्रो गाउँमा न राम्रो सडक थियो, न घरघरमा बिजुली। न धारामा पानी आउँथ्यो, न भान्सामा ग्यास बल्थ्यो। मट्टितेलको कुपी बालेर पँधेरोबाट लाइनमा बसेर एक गाग्री पानी ल्याउन पनि घण्टौँ लाग्थ्यो। तर पनि जीवन चलिरहेको थियो—आशा, मेहनत र त्यागको भरमा।
बिहान उज्यालो नहुँदै आमाहरू भारी नाम्लो बोकेर घाँसदाउरा गर्न जंगल जान्थे। आमा र दिदीहरू डोकोमा पानी बोक्थे, बा र दाजुहरू खेतमा हलो जोत्थे। बुबाका हातमा ठेला थिए, आमाका खुट्टामा काँडा। तर पनि सन्तानको भविष्यका लागि उनीहरूका पाइला कहिल्यै रोकिँदैनथे।
सानो झोलामा किताब च्यापेर नाङ्गो खुट्टा विद्यालय जाने मलाई के थाहा—आफ्ना बाबुआमाले मेरो भविष्यका लागि कति सपना र आफ्ना रहरहरू त्यागेका छन् भनेर।
वर्षभरि उत्पादन गरेको धान, मकै, कोदो, गहुँ सबै साहुलाई बुझाउनुपर्ने। बाँकी रहेको अन्नले दुई–चार महिनाभन्दा बढी परिवारको छाक टर्दैनथ्यो। बाँकी समय आलु, मकै, सखरखण्ड आदि खाएर बित्थ्यो। मकैको चामलको भात नै काफी हुन्थ्यो। घरमा मिठो परिकार सधैँ पाक्दैनथ्यो। तर चुलोमा पाकेको थोरै भात परिवारले बाँडेर खाँदा पनि त्यो भोजनमा छुट्टै मिठास हुन्थ्यो। धानको भात खान त कि चाडपर्व कुर्नुपर्थ्यो, कि बिहेभोज।
नयाँ लुगा वर्षमा एकपटक पनि नआउन सक्थ्यो। कुनै–कुनै वर्षमा आउँथ्यो, त्यो पनि स्कुल ड्रेस र हात्ती छाप चप्पल।
राति टुकीको मधुरो उज्यालोमा आमाले कथा सुनाउँथिन्। हजुरबुबाले पुराना दिनका कुरा सुनाउनुहुन्थ्यो। बाहिर जुन चम्किरहेको हुन्थ्यो, भित्र सानो घरमा ठुलो संसार अटाएको हुन्थ्यो।
हो, त्यो जीवन सजिलो थिएन। गरिबी थियो, अभाव थियो, दुःख थियो। कतिपय सपना परिस्थितिले जन्मिनुअघि नै मारिदिन्थ्यो।
तर ती झुरुप्प परेका हातहरूभित्र सन्तानका लागि संसार जित्ने साहस थियो। परिवारमा एकता थियो। प्रगाढ माया र प्रेम थियो। दाजुभाइ, दिदीबहिनी, काका, ठुलाबा, भतिजा–भतिजी—सबै पुस्तामा प्रगाढ माया र प्रेम थियो। एउटै छानामुनि सानो संसार थियो। न रिस थियो, न डाह। थियो त केवल गुजारा चलाउने अथक मेहनत र सहकार्य।
आज हामी आधुनिक भयौँ, संसारसँग जोडियौँ, सुख-सुविधा पायौँ। आज त्यो परिवारको एकता खै कता हरायो? पहिलेको प्रगाढ मायाप्रेममा खै केले आगो झोस्यो? आज परिवार परिवारजस्तो छैन। समाज विखण्डनको बाटोमा गइरहेको छ।
पैसा, पावर र प्रतिष्ठाको पछाडि दगुरेर आज सम्बन्धमा, समाजमा दरार आउँदै छ। भाइ, हामीले त्यो बाटो मात्र हिँड्नु हुँदैन। हाम्रो संस्कार बचाउनुपर्छ। कहिलेकाहीँ लाग्छ—हामीले प्रगतिको दौडमा आफ्ना आमाबुबाका ती निःस्वार्थ त्यागहरू सम्झिन त बिर्सिरहेका छैनौँ?
आज हामी जहाँ छौँ, त्यहाँ पुग्न कसैले आफ्नो जवानी खेतबारीमा बिताएको थियो। कसैले आफ्ना रहर मारेर हाम्रा सपना पूरा गरेको थियो।
त्यसैले घर छोडेर परदेशमा बसे पनि आमाबा र नजिकका सम्बन्धका मान्छेहरूलाई चाहिँ नबिर्सनु है। सम्झनु भनेको उहाँहरूको त्यो अदम्य संघर्ष, त्याग र साहसलाई सम्मान गर्नु हो, जसले अभावमा बाँचे पनि आफ्ना सन्तानको भविष्यका लागि कहिल्यै आशा मार्नुभएन। किनकि हाम्रो आजको उज्यालोमा हिजोका पुस्ताले बगाएको पसिना मिसिएको छ।’
म उहाँका सबै कुरा भावुक र गम्भीर भएर सुनिरहेको थिएँ। मन चिसो भयो। उहाँको कुराले आफूले त धेरै दुःख नभोगेको रहेछु, अलि भाग्यमानी पुस्तामा परेछु भन्ने मनमा आयो। तर त्यो संघर्षको कथाले मनमा चस्क काँडा बिझेसरि पीडा भयो। अनि कुरा गर्दै गरौँ, म अलि व्यस्त भएँ भनेर फोन राखेँ।
आमाबुबाप्रतिको सम्मान झन् बढेर आयो। अनि मनमनै अठोट गरेँ—आमाबा, अब छोरा ठुलो भयो। जुन दुःख भोगेर हामीलाई संसार देखाउनुभयो, अब त्यसको केही हिस्सा प्रतिफलका रूपमा पाउनुहुन्छ। केही समय पर्खनुस् है।