२०७८ साल कात्तिक १६ गते हाम्रो परिवारका लागि कहिल्यै बिर्सन नसकिने कालो दिन बन्यो। जीवनमा जन्मिएपछि एक दिन मृत्यु अवश्य हुन्छ। यो प्रकृतिको शाश्वत सत्य हो। तर आफ्नै जन्मदिने आमालाई गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेपछि मात्रै थाहा हुँदो रहेछ।
मानिसले मृत्यु रोक्न सक्दैन। शास्त्रमा वर्णन गरिएको सञ्जीवनी बुटी नै पाए पनि मृत्युलाई जित्न सम्भव हुँदैन होला। तर आफ्ना प्रियजनलाई गुमाउँदाको पीडा र मनमा उठ्ने अनगिन्ती प्रश्नको उत्तर सहजै भेटिँदो रहेनछ।
त्यो बिहान आमाको दुर्घटनाको खबर सुन्दा हाम्रो संसार एकाएक बदलियो। जसले मलाई जन्म दिनुभयो, यो धर्तीमा पाइला टेकाउनुभयो र जीवनको पहिलो सहारा बन्नुभयो, उहाँलाई नै गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। आमाको अन्तिम बिदाइका बेला पार्थिव शरीरको खुट्टामा ढोगेर दागबत्ती दिँदा मनभित्र पीडाको ठुलो आँधी चलेको थियो।
आँखामा आँसु थियो, मुटु भारी थियो। अब आमा कहिल्यै फर्केर आउनुहुन्न भन्ने यथार्थ स्विकार्न मन तयार थिएन।
बगेको खोला फर्केर आउँदैन। बितेको समय पनि फर्काउन सकिँदैन। त्यसै गरी अन्त्येष्टिपछि आमालाई भौतिक रूपमा फेरि भेट्न सम्भव थिएन। तर उहाँसँग जोडिएका सम्झना र उहाँले दिनुभएको माया भने मनबाट कहिल्यै टाढा भएनन्।
आमालाई सम्झिँदा सबैभन्दा पहिले मेरो मानसपटलमा हाम्रो विकट गाउँको परिवेश आउँछ। त्यो समय, त्यो समाज र त्यति बेलाको पारिवारिक अवस्था सम्झिन्छु। आठ जना छोराछोरी हुर्काउनु सामान्य कुरा थिएन। घरको काम, मेलापात, खेतीपाती र परिवारका सबै सदस्यको हेरचाह गर्दै हामीलाई हुर्काउन आमाले कति दुःख गर्नुभयो होला! आज फर्केर ती दिन सम्झिँदा आमाको संघर्षको गहिराइ महसुस हुन्छ।
बुबा नेपाली सेनामा हुनुहुन्थ्यो। त्यसैले उहाँको स्वभाव केही कडा थियो। परिवारका धेरै जिम्मेवारी आमाकै काँधमा थिए। घरभित्रका समस्या हुन् वा छोराछोरीको पालनपोषण, आमाले सबै सम्हाल्नुभयो। आफ्नो दुःख र थकानलाई भन्दा सन्तानको भविष्यलाई प्राथमिकता दिनुभयो।
आमाको काख, उहाँको माया, हिम्मत र संघर्षका ती दिन आज पनि आँखाअगाडि आइरहन्छन्। हामीलाई हुर्काउन र जीवनमा अघि बढाउन उहाँले गर्नुभएको त्यागको कुनै हिसाब छैन। सन्तानको उन्नति र उज्ज्वल भविष्यका लागि आमाबुबाले गर्ने निःस्वार्थ कामनाको मूल्य सन्तानले कहिल्यै तिर्न सक्दैन रहेछ।
आमा बितेपछि परिवारको जिम्मेवारीबारे झन् धेरै सोच्न थालेको छु।
आमाले जसरी परिवारलाई एकताबद्ध बनाएर राख्नुभयो, त्यसरी नै बुबाको हेरचाह गर्न सकूँ। दिदीबहिनी, भाइ, भान्जाभान्जी, भिनाजु र आफन्तप्रतिको जिम्मेवारी आमाले जस्तै आत्मीयताका साथ पूरा गर्न सकूँ। आमाले जीवनभर गर्नुभएको त्याग र देखाउनुभएको बाटोबाट प्रेरणा लिएर परिवारलाई सम्हाल्न सकूँ भन्ने मेरो चाहना छ।
आमा, तपाईं भौतिक रूपमा हामीसँग हुनुहुन्न। तर तपाईंले सिकाउनुभएका संस्कार, माया र जीवनका मूल्यहरू हामीसँगै छन्। तपाईंका सम्झनाले हामीलाई सधैँ सही बाटोमा हिँड्न प्रेरित गरिरहनेछन्।
हिन्दु धर्म र संस्कृतिमा मातापितालाई जीवित छँदा देवतासरह मानेर सेवा र सम्मान गर्नुपर्छ भन्ने मान्यता छ। मृत्यु भएपछि पनि उहाँहरूलाई पितृदेवका रूपमा सम्झने, श्रद्धा गर्ने र श्राद्ध गर्ने परम्परा छ। मानिसको भौतिक शरीर नष्ट भए पनि उसले छोडेर गएका संस्कार, विचार र सम्झनाहरू सन्ततिका मनमा जीवित रहन्छन् भन्ने विश्वास छ।
हिन्दु मान्यताअनुसार स्वर्गलोक, वैकुण्ठलोक र पितृलोकको चर्चा गरिन्छ। पृथ्वी लोकमा रहेका हामी आफ्ना दिवंगत मातापिताको आत्माको शान्तिको कामना गर्छौँ। उहाँहरूको सम्झनामा गरिने श्राद्ध, तर्पण र दान केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, आफ्ना जन्मदाता र उहाँहरूले गर्नुभएको त्यागप्रति सन्तानले व्यक्त गर्ने श्रद्धा र कृतज्ञता पनि हुन्।
जीवित छँदा आमाबुबाको सेवा गर्नु जति आवश्यक छ, उहाँहरूको निधनपछि पनि उहाँहरूलाई श्रद्धापूर्वक सम्झिरहनु उत्तिकै महत्त्वपूर्ण छ। आमाबुबाको ऋण सन्तानले जीवनभर तिरेर सक्दैन। उहाँहरूले दिएको जन्म, माया, संस्कार र जीवनको आधारको मूल्य कुनै दानदक्षिणा वा कर्मकाण्डले पूरा गर्न सक्दैन।
आज आमाको पाँचौँ पुण्यतिथिमा उहाँलाई सम्झिरहेको छु। पाँच वर्ष बितिसकेछन्। समयको सुई निरन्तर अगाडि बढिरहेको छ। हाम्रो जीवन पनि आफ्नै गतिमा अघि बढिरहेको छ। तर आमाले छोडेर जानुभएको रिक्तता भने अझै उस्तै छ। घरको आँगनमा सुनिने उहाँको आवाज, मायालु व्यवहार, हप्काइ र स्नेह आज पनि सम्झनामा ताजै छन्।
कहिलेकाहीँ लाग्छ, आमा अहिले पनि हामीसँगै हुनुहुन्छ। हाम्रा गतिविधि हेरिरहनुभएको छ। हामीलाई सही र गलत छुट्टाउन सिकाइरहनु भएको छ। दुःखमा हिम्मत र अप्ठ्यारोमा धैर्य गर्न प्रेरणा दिइरहनुभएको छ।
आमा, जीवनको अन्तिम क्षणसम्म तपाईंले हामीलाई दिनुभएको माया र गर्नुभएको त्यागका लागि हामी सधैँ ऋणी रहनेछौँ। तपाईंको भौतिक शरीरको सेवामा हामीबाट कुनै त्रुटि भएको भए क्षमा गरिदिनुहोला। जहाँ र जुन लोकमा हुनुहुन्छ, त्यहाँ पनि सुख, शान्ति र आनन्द प्राप्त होस्। पितृहरूसँगै तपाईंको बास होस्।
तपाईंले देखाउनुभएको सत्य र सत्कर्मको बाटोमा हिँड्न सकूँ। बुबा र परिवारका सबै सदस्यको उचित हेरचाह गर्न सकूँ। तपाईंले जोडेर राख्नुभएको परिवारलाई सधैँ एकताबद्ध राख्न सकूँ। यही नै तपाईंप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
आमा, अर्को जन्म हुन्छ भने फेरि पनि तपाईंको कोखबाटै जन्म लिन पाऊँ। फेरि पनि तपाईंको माया र काखमा हुर्किन पाऊँ।
आमाको पाँचौँ पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली। हार्दिक सम्झना, प्यारी आमा!
