सुरेश गिरीको दैनिकी पोर्चुगलको लिस्बनमा रहेको एउटा इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउँदै बित्छ।
उनी काम खोज्दै चार वर्षअघि त्यहाँ पुगेका हुन्।
सुरूमा उनले भाँडा माझे। काम नपाएर भौंतारिरहेका बेला उनलाई काम पाउनु नै ठूलो कुरा थियो।
'त्यसैले काम सानो वा ठूलो नभनी आफ्नो जिम्मेवारी सम्हालेँ,' उनले भने।
एक साता मात्रै भएको थियो, एक जना कर्मचारीले काम छाडेपछि उनलाई भान्सामा काम गर्ने अवसर मिल्यो। त्यसपछि उनले पास्ता बनाउन सिके।
रेस्टुरेन्टमा पास्ता र पिज्जा बनाउने ठाउँ छुट्टाछुट्टै थिए। पास्ता बनाउने सेफलाई पिज्जा बनाउने ठाउँमा जान अनुमति थिएन।
पिज्जा बनाउने अधिकांश कर्मचारी नेपाली थिए। उनीहरूसँग बिस्तारै चिनजान बढाएपछि सुरेशले पनि पिज्जा बनाउन सिक्ने अवसर पाए। चार महिनामै उनी पिज्जा बनाउन सक्ने भए।
अहिले उनी रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउने कर्मचारीमध्ये सबभन्दा सिनियर छन्।
'मभन्दा माथि इटालियन सेफ हुनुहुन्छ। रेस्टुरेन्ट उहाँकै हो,' सुरेशले भने।
रेस्टुरेन्टमा कुल १८ जना कर्मचारी छन्। तीमध्ये भान्सामा काम गर्ने सातै जना नेपाली हुन्। ग्राहकलाई खाना पस्किने र अन्य काममा भने ब्राजिल र कोलम्बियाका नागरिक खटिन्छन्।
सुरेश दैनिक आठ घण्टा काम गर्छन्। सातामा दुई दिन बिदा पाउँछन्। खानाको व्यवस्था पनि रेस्टुरेन्टमै हुन्छ।

भान्सामा सबै नेपाली भएकाले उनीहरूबीच काम गर्दा नेपाली भाषामै कुराकानी हुन्छ। त्यसैले रेस्टुरेन्टमा काम गर्दा पोर्चुगिज भाषा सिक्ने अवसर कम मिल्ने उनी बताउँछन्।
पोर्चुगलमा दैनिक जीवनयापनका लागि स्थानीय भाषा जान्नु भने महत्त्वपूर्ण छ। विशेषगरी सरकारी कार्यालयमा काम पर्दा भाषाको समस्या हुने गरेको उनले बताए।
कार्यालयमा ५० वर्षमाथिका कर्मचारी धेरै हुने र उनीहरू अंग्रेजीभन्दा पोर्चुगिज भाषामै कुरा गर्न रूचाउने उनको अनुभव छ। अंग्रेजीमा कुरा गर्दा कतिपय रिसाउने समेत गरेको उनले सुनाए।
'काम गर्ने ठाउँमा नेपाली मात्र हुँदा सजिलो त हो तर स्थानीय भाषा खासै जानिँदैन रहेछ। तर यहाँ भाषा नै ठूलो कुरा हो,' उनले भने।
रेस्टुरेन्टको मुख्य परिकार पिज्जा र पास्ता हुन्। इटालियन खानामा अन्य खानाको तुलनामा मसला प्रयोग कम हुन्छ। नेपाली खाना खान मन लागेका बेला भने सुरेश आफै बनाएर खान्छन्।
चिनजानका नेपाली ग्राहक आउँदा भने मसला, खुर्सानी हालेर नेपाली शैलीमा परिकार बनाएर दिने गरेको सुरेशले बताए।
सुरेशको घर सिन्धुपाल्चोकको मेलम्ची हो। उनी घरका कान्छा सदस्य हुन्। उनका दिदी र दाइ छन्। घरको मुख्य आम्दानी कृषि थियो।
गाउँकै जलवायु देवी मावि स्कुलबाट २०६७ सालमा एसएलसी पास गरेपछि उनी प्लस–टू पढ्न काठमाडौं आए। काठमाडौंमा उनका दिदीभिनाजु बस्थे। सुरेश उनीहरूकै साथमा बसे र जोरपाटीस्थित जया मल्टिपल कलेजमा मानविकी संकायमा भर्ना भए।
'दिदीभिनाजुको व्यवसाय थियो। त्यहीँ सघाउँथे। अरू जागिर गर्नुपरेन,' उनले सुनाए।
कक्षा १२ सकेपछि उनले त्यहीँबाट स्नातक तहको पढाइ पनि अघि बढाए।
त्यति बेला उनका साथीहरू धमाधम विदेश जान थालेका थिए। उनलाई पनि विदेश जाने सोच आयो। सन् २०१८ मा उनफ विद्यार्थी भिसामा साइप्रस गए।
साइप्रसमा सुरेशले बिजनेस सम्बन्धी एक वर्षे कोर्स पढे। साइप्रस सरकारको नियम अनुसार विद्यार्थीलाई काम गर्ने अनुमति थिएन। विद्यार्थी भिसामा जानेले आफ्नो आर्थिक अवस्था देखाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार उनले घरबाट दुई हजार युरो लिएर गएका थिए। त्यो रकमले लामो समय खर्च धान्न सक्ने अवस्था थिएन।
सुरूका दुई–तीन महिना काम नपाएरै बित्यो। काम नहुँदा आर्थिक समस्यासँगै मानसिक तनाव पनि बढेको उनले बताए।
'काम नहुँदा डिप्रेसनमा जाने हुँदो रहेछ,' उनले सुनाए।
सुरेशले पछि कृषि क्षेत्रमा काम पाए। त्यहाँ फलफूल तथा तरकारी टिप्नुपर्थ्यो। ज्यालादारीमा काम हुने भएकाले दैनिक ज्याला पाउँथे। कमाइले खान र बस्न ठिक्क हुन्थ्यो।
एक वर्षपछि उनले काम गर्ने आवश्यक कानुनी कागजात पाए। त्यसपछि कफी सप र केएफसीमा काम गर्न थाले।
'मैले एकै पटकमा दुइटा काम गरेँ। घरमा पनि थोरै पठाउन थालेँ,' उनले भने।
त्यहाँ करिब दुई वर्ष काम गरे। अनि सन् २०२१ मा पोर्चुगल पुगे।

पोर्चुगलमा पनि काम पाउन सजिलो थिएन। दुई महिना काम खोज्दैमा बिताए। पछि एक नेपाली लगानीकर्ताको भारतीय रेस्टुरेन्टमा काम पाए। त्यहाँ मासिक सात सय युरो तलब तोकिएको थियो। तर नियमित पाएनन्।
'कहिले दुई सय त कहिले तीन सय युरो गर्दै किस्तामा दिन्थे। तर किचनको काम सिक्ने अवसर मिल्यो,' सुरेशले भने।
समयमा तलब नपाएपछि उनले चार महिनामै काम छाडे। त्यसको एक महिनापछि साथीमार्फत अहिले काम गरिरहेको इटालियन रेस्टुरेन्टमा पुगेका हुन्।
विदेशमा काम गर्ने क्रममा नेपालीबाटै ठगिने गरेको अनुभव सुरेशसँग छ। त्यसैले विदेश जानुअघि आवश्यक जानकारी लिएर मात्रै जान उनी सुझाउँछन्।
'विदेश आउँदा धेरै कुरा बुझेर मात्र आउनुपर्छ। नत्र ठगिइन्छ,' उनले भने।
अहिले सुरेश र उनकी श्रीमती पोर्चुगलमा बस्छन्। परिवारका अन्य सदस्य नेपालमै छन्। उनी समय समयमा नेपाल आइरहन्छन्।
आगामी दिनमा आफ्नै व्यवसाय सुरू गर्ने उनको योजना छ।
पोर्चुगलमा रेस्टुरेन्टको कामसँगै सुरेश सामाजिक संस्थामा पनि आबद्ध छन्।
उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको लेखा समिति सदस्य र अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको महासचिव हुन्। कामका अतिरिक्त सामाजिक गतिविधिमा पनि सक्रिय रहेको उनले बताए।
***