भैरहवा भन्सार कार्यालयले बिनाभन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
गत जेठको दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाइ भन्सार जाँचपास गराउन खोजेको घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ।
भारतबाट प्याज बोकेर आएको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका थिए। युपी ३१ टी ९९४१ नम्बरको ट्रकलाई प्याजसहित भन्सारको दोस्रो गेटबाट बाहिरिनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको थियो।
भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरू हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जिट नोट) दिएमात्रै मालबाहक गाडी बाहिरिन पाउँछन्।
तर, सोमबार भन्सार परिसरमा आएको गाडीबिना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरिन खोज्दा भन्सार प्रणालीले किर्ते देखाएको भन्सार कार्यालयले जनाएको छ।
निकासी गेटमा नक्कली गेटपास र एक्जिट नोट प्रणलीमा समावेश गर्दा नमानेपछि घटना बाहिरिएको हो।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले प्याज बोकेको ट्रक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए।
कागजपत्र किर्ते गरेको भन्ने आशंकामा मालबाहक ट्रकसहित चालक र सह–चालकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए।
जेठ दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाई भन्सार जाँचपास गराउने १० जनाको समूहलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा संलग्नमध्ये केही व्यक्ति धरौटीमा छुटेका छन् भने केही विरूद्ध मुद्दा चालिरहेको भन्सार कार्यालयले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धि कर लगाएको छ।