अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा शाहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
आयोगले झापा गाउँपालिकाका अध्यक्ष शाहसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईंविरूद्ध २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित मुद्दा दायर गरेको छ।
शाह दोस्रो पटक झापा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
आयोगले लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झूटा बिल पेस गरी २२ लाख नौ हजार आठ सय २३ दशमव ४० पैसा भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूबाट बिगोसमेत माग गरेको छ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको माग गरिएको छ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी आयोगले गरेको छ।
आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको आरोप लगाएको छ । उनीहरूविरूद्ध कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ।