सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयार राखेको छ।
डोजर, लोडर गरी १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित सातै प्रदेशमा राखिएको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
खराब मौसम, अप्ठ्यारो ठाउँ र २४ सै घन्टा उद्धार र राहतमा जुट्न तयार रहेको डिएसपी थापाले बताए।
अप्ठेरो पर्दा निशुल्क रूपमा संगठनको हटलाइन नम्बर १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिने एपिएफले बताएको छ।
कोशी स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा उद्धारको टोली एवं उपकरणलाई तयारी अवस्थामा राखिएको छ।
कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र र्याफ्टबोट छन्।
१४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरू समेत छन्।
त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति पनि तयार रहेको एपिएफले जनाएको छ।
डिएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नं. १ बराह बाहिनी सुनसरी , नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरूमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक/एक प्लाटुन, सम्पूर्ण गणहरूमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरूमा एक/एक सेक्सन आवश्यक सामग्रीसहित तयारी हालतमा राखिएको छ।
साथै बाढीका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एक/एक गरी १२ वटा स्थानमा डिप ट्यूवेलसहित तयार रहेको एपिएफले जनाएको छ।