पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ।
यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ। सप्तरीमा तीन घन्टामा १०८.४ मिलिमिटर र चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै मोरङमा पछिल्लो तीन घन्टामा ११५.८ मिलिमिटर र चौबिस घन्टामा १५७.२ मिलिमिटर वर्षा मापन भएको छ भने सुनसरीमा पछिल्लो तीन घन्टामा ९७.८ मिलिमिटर र चौबिस घन्टामा १२८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
अति भारी वर्षा भइरहेका स्थानका साना ठूला नदी आसपास र तटीय क्षेत्रमा अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
विशेषगरी बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना ठूला खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेकाले बिहान ११ बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको र यसको प्रभावले भारीदेखि धेरै भारी वर्षा भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।