रोल्पामा जंगली च्याउ खाँदा ६ वर्षीय एक बालकको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्।
लुग्री गाउँपालिका वडा नं. ५ का ६ वर्षीय प्रेम गुरूङको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसी श्याम सारु मगरले जानकारी दिए।
बालककी आमा ३३ वर्षीया भीिमा गुरूङ र उनका ११ वर्षीय छोरा सुशील गुरूङको उपचार भइरहेको छ।
डिएसपी मगरका अनुसार गुरूङ परिवारले असार २६ गते साँझ स्थानीय जंगलबाट ल्याएको च्याउ खाएका थिए। २७ गते बिहान पनि गुरूङ परिवारले च्याउ खाएका थिए।
११ वर्षीय सुशील विद्यालय गएको समयमा बेहोस भएपछि उनलाई छोड्न घरमा गएको समयमा उनकी आमा र भाइ पनि अचेत अवस्थामा फेला परेपछि अस्पताल लगिएको कुरा खुलेको डिएसपी मगरले जानकारी दिए।
जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो।
६ वर्षीय बालक प्रेमको उपचारका क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको थियो। तर प्रहरीलाई भने करिब ९ बजे बिहान मात्रै सूचना दिइएको डिएसपी मगरले जानकारी दिए।
आमा भिमा र छोरा सुशीलको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको भनेर खबर आएको पनि प्रहरीले बताएको छ। भिमाका श्रीमान भने रोजगारीका सिलसिलामा विदेशमा छन्। बालकको शव पोष्टमर्टमाको लागि अस्पतालमा राखिएको छ।
लुग्री गाउँपालिका – ५ का थप पाँच जना पनि जंगली च्याउ खाएका कारण बिरामी रहेको डिएसपी मगरले जानकारी दिए।
उनीहरूको जिल्लामै उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको भन्ने कुरा चिकित्सकले जानकारी दिएका छन्।
जंगली च्याउ खाएर सर्वसाधारण बिरामी पर्ने क्रम बढेपछि प्रहरी प्रशासनले सार्वजनिक सूचना जारी गरी आफूले नचिनेको र जंगली च्याउ नखान अपिल जारी गरेको छ।