दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरूद्ध शुक्रबार पनि नाराबाजी जारी छ।
घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्युको विषयलाई लिएर बिहीबार दिनभरजसो प्रतिष्ठानमा नाराबाजी भएको थियो। जसका कारण प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित बनेको छ।
सुत्केरी हुनका लागि पुगेका महिलाहरू आन्दोलनका कारण बाहिर जान बाध्य पारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालित छन्।
मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन्। बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले प्रतिष्ठानको अगाडि ट्राफिक चोकमा पीडित पक्षले नाराबाजी र आन्दोलन जारी राखेको जानकारी दिए।
पीडित पक्ष र प्रतिष्ठान प्रशासनबीच बिहीबार वार्ता भएको थियो। आन्दोलनरत पक्षले बालकको मृत्युपछि प्रतिष्ठानले उचित क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आएका छन्। स्रोतका अनुसार उनीहरूले २५ लाख क्षतिपूर्ति माग गरेका छन्। प्रतिष्ठान प्रशासनले भने त्यति ठूलो रकम उपलब्ध गराउने अधिकार आफूहरूलाई नरहेको बताएको छ।
प्रतिष्ठान प्रशासनले बालककी आमालाई प्रतिष्ठानमा रोजगारीको व्यवस्था मिलाइदिने वचन दिए पनि त्यसमा पीडित पक्ष राजी भएको छैन।
पीडित पक्षले क्षतिपूर्तिबापत ठूलो रकम मागेको हुँदा समस्या समाधान हुन नसकेको स्रोतले बताएको छ।
बिहीबार सरोकारवालाहरू बीचको वार्तामा शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएको थियो। तर, पीडित पक्षले बिहानैदेखि वार्ताभन्दा पनि आन्दोलनलाई महत्व दिएको हुँदा समस्या भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्।
यो पनि:
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव