अल्सर हुने मुख्य कारण 'हेलिकोब्याक्टर पाइलोरी' हो। यो ब्याक्टेरियाको कारणले आमाशयमा अल्सर हुन्छ। ठूलो आन्द्रामा अल्सर हुने अरू कारण हुन्छन्। कहिलेकाहीँ मुखमा विभिन्न कारणले अल्सर हुन्छ।
आमाशयमा सुरूमा संक्रमण भएपछि सुन्निएको हुन्छ। सुरूआती चरणमा उपचार गरिएन भने अल्सर (घाउ) बढ्दै जान्छ। दुख्न कम हुने औषधीहरू जथाभावी खाएमा समेत अल्सर हुन सक्छ। धेरै जलन भएका बिरामीलाई समेत आमाशयमा अल्सर हुन्छ।
आमाशयमा अल्सर भएमा पेट दुख्ने, वाकवाक हुने, अमिलो पानी आउने, डकार आउने, पेट ढुस्स हुने अनि फुल्ने हुन सक्छ।घाउ बढ्दै गयो भने दिसाबाट रगत जान्छ। त्यस्तै मुखबाट समेत रगत जान्छ।
लक्षणहरूका साथै 'हेलिकोब्याक्टर पाइलोरी' को परीक्षणबाट थाहा हुन्छ। सुरूआती चरणमा अल्सर भएको थाहा भएमा सामान्य उपचारले ठीक हुन्छ। कतिपय अवस्थामा बिरामीको इण्डोस्कोपी गर्नुपर्छ। इण्डोस्कोपीबाट मुखदेखि भोजन नली आमाशयको विभिन्न भाग र सानो आन्द्राको विभिन्न भागको परीक्षण गर्न सकिन्छ।
आमाशयको अल्सर भएका बिरामीले खाना बार्नु पर्दैन। अमिलो, पिरो नखाएर अल्सर हुने या बढ्ने होइन। अल्सरबाट जोगिन र अल्सर बढ्न नदिन सरसफाइमा ध्यान दिनुपर्छ। पानी उमालेर खानुपर्छ भने सागसब्जी राम्रोसँग पकाएर मात्रै खानुपर्छ। सामान्य घरमा खाने सबै खाना खान मिल्छ।
आमाशयको अल्सर पूर्ण रूपमा निको गर्न सकिन्छ। धेरैजसो बिरामीको अपरेसन गर्नु पर्दैन। आमाशयको अल्सरलाई लापरबाही गरियो भने क्यान्सर हुन्छ। त्यसैले रोकथाम अत्यन्तै जरूरी छ।
(चितवन अस्पताल प्रा.लि.मा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन प्रा.डा. विजयप्रसाद पौडेलसँग सेतोपाटीका लागि राजेश घिमिरे र सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)