आफ्नो तजबिजी अधिकार प्रयोग गरेर ४० औं वरीयताका कर्मचारीलाई कृषि अनुसन्धान परिषद् (नार्क)को कायममुकायम कार्यकारी निर्देशक बनाएका कृषिमन्त्री बेदुराम भुसालले यसको विरोध गर्ने दुई वैज्ञानिकलाई सरूवा गरेका छन्।
नार्कको पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयतामा रहेका ध्रुवराज भट्टराईलाई गत असार १ गते नार्कको कायममुकायम कार्यकारी निर्देशक बनाएका थिए।
मन्त्री भुसालको कदमविरूद्ध नार्ककै वैज्ञानिकहरू समेत आवद्ध रहेका सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट्स नेपाल (सास) ले विरोधमा विज्ञप्ति निकालेको थियो।
मन्त्री भुसालको कदममा असहमति जनाएको भन्दै सासका अध्यक्षसमेत रहेका वरिष्ठ वैज्ञानिक डाक्टर रामप्रसाद घिमिरे र उपाध्यक्ष युवराज भुसाललाई सरूवाको पत्र थमाइएको हो।
राष्ट्रिय चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रका संयोजक रहेका घिमिरेलाई कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा सरूवा गरिएको पत्र भट्टराईले थमाएका थिए।
यस्तै राष्ट्रिय कृषि सूचना तथा प्रविधि केन्द्रका प्रमुख रहेका अर्का वैज्ञानिक युवराज भुसाललाई राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रमा जिम्मेवारी नतोकी सरूवा गरिएको घिमिरेले सेतोपाटीलाई बताए। घिमिरेले गत २७ गते र भुसालले २६ गते सरूवाको पत्र पाएका थिए।
‘हामीले नार्कको पद्धति नबिगारौं भनेर आवाज उठाएका थियौं, आफैं कार्यकारी अध्यक्ष बन्न खोजेका थिएनौं,’ घिमिरेले भने, ‘तर मन्त्रीज्यूको गलत कदमविरूद्ध आवाज उठाएबापत सरूवाको पुरस्कार पाइयो।’
लुम्लेमा दरबन्दी नभएका कारण आफूलाई काज सरूवाको पत्र थमाएको उनले बताए।
सम्बन्धित समाचार: