छात्रवृत्ति विवरण नबुझाउने निजी स्कुलहरूलाई इटहरी उपमहानगरले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ।
उपमहानगरको शिक्षा शाखाले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको नगरका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए। दस वटा आधारभूत र पाँच वटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो।
आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।
छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाइल्ड डे केयर छन्।
यस्तै, आधारभूत तहकै वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमूना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन्। यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ।
यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोर्डिङ स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोर्डिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको छ।
नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए।
उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ।
निजी विद्यालयलाई उपमहानगरपालिकाले तीन पटकसम्म छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो।