बाढीले हेवाखोलाको पुल बगाएको २८ दिनपछि आइतबारदेखि पाँचथर र ताप्लेजुङ बेलिब्रिजमार्फत् मेची राजमार्गमा जोडिएका छन्।
आइतबारदेखि हेवाखोलामा बेलिब्रिज सञ्चालनमा आएपछि राजमार्ग हुँदै यातायातका साधन चल्न सुरू भएका छन्।
बेलिब्रिजबाट एकतर्फी मात्र मात्र सवारी आवत जावत हुने भन्दै जिल्ला प्रहरी पाँचथरले पालैपालो र एकपटकमा एउटा मात्र सवारी साधन आवतजावत गरी पुलको प्रयोग गर्न आग्रह गरेको छ।
यसअघि डाइभर्सनमार्फत् यातायातका साधन चल्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार असार ३ गते बिहानको राति आएको बाढीले हेवाखोलाको पुल भत्काएको थियो।
‘आइतबारदेखि हेवाखोलास्थित मेची राजमार्गमा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ’, जिल्ला प्रहरी पाँचथरले आइतबार जारी गरेको सूचनामा भनिएको छ।
प्रहरीले बेलिब्रिजको प्रयोग गर्दा सावधानी अपनाउन पनि भनेको छ।
पुलमा पहिलो दिन साना सवारी साधनहरूलाई प्राथमिकतामा राखिएको र ठूला सवारी साधनपछि सञ्चालन गरिने प्रहरीले जनाएको छ।
प्रहरीले पुलको किनारमा सुरक्षा जोखिम रहेको भन्दै पैदल पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिन आग्रह गरेको छ।
प्रहरीले बेलिब्रिजमा २५ टन सम्मको मात्रै भार भएको साधन आवतजावत गर्न गराउन र त्यो भन्दा बढी तौल बोकेर पुल पार नगर्न पनि सूचित गरेको छ।