काठमाडौं जिल्लामा बैंकिङ कसुरका अपराध बढेका छन्।
आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा बैंकिङ कसुरका अपराध बढेका हुन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्षको समीक्षा गर्दै एसएसपी दानबहादुर कार्कीले बैंकिङ कसुरका अपराध बढेको जानकारी दिए।
उनका अनुसार ०७८/०७९ मा जम्मा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए। तर ०७९/०८०मा मुद्दा दर्ताको संख्या ७ हजार १०१ छ।
यस्तै दोस्रो नम्बरमा अभद्र व्यवहारका मुद्दा छन्। यस कसुरको मुद्दा संख्या केही मात्रै बढेको छ।
अभद्र व्यवहारमा यसअघि २ हजार ३१६ मुद्दा दर्ता भएकोमा सकिएको चालु आवमा २ हजार ८९४ मुद्दा दर्ता भएको हो।
केही वर्ष अघिसम्म बैंकिङ कसुरका मुद्दाभन्दा अभद्र व्यवहारका मुद्दा धेरै दर्ता भएका थिए। पछिल्लो समयमा बैंकिङ कसुरको मुद्दा धेरै दर्ता भएको एसएसपी कार्कीले बताए।
तेस्रोमा चोरीसम्बन्धी मुद्दा पनि बढेका छन्। अघिल्लो आर्थिक वर्षमा ४६० मुद्दा दर्ता भएकोमा गत वर्ष ६४७ मुद्दा पुगेका छन्।
हत्याका घटना भने घटेको एसएसपी कार्कीले बताए।
आव ०७८/०७९ मा ३७ वटा हत्याका मुद्दा दर्ता भएको थियो। ०७९/०८० मा भने २७ वटा मुद्दा दर्ता भएका हुन्।
परिसरमा आव ०७८/०७९ मा विभिन्न प्रकृतिका कूल ८ हजार ९७७ मुद्दा दर्ता भएका थिए। पछिल्लो आवमा भने १३ हजार ४६४ मुद्दा दर्ता भएका हुन्।
आत्महत्या न्यूनिकरण गर्न मनोसामाजिक परामर्शदाता राख्नुपर्ने
परिसरले प्रस्तुत गरेको समीक्षामा आत्महत्याका घटना घटेको देखिन्न।
आव २०७८/०७९ मा आत्महत्यासम्बन्धी कसुरमा ३४१ वटा मुद्दा दर्ता भएका थिए। सकिएको आवमा ३५७ मुद्दा दर्ता भएका छन्।
काठमाडौंमा आत्महत्याका घटनाहरू विशेषगरी लागु औषधको प्रयोग, आर्थिक कमजोरी, परिवारसँग सम्बन्ध बिग्रिएको, प्रेमसम्बन्धी बिग्रिएको, विवाहेत्तर सम्बन्धका कारणले हुने गरेको एसएसपी कार्कीले बताए।
आत्महत्याका घटनाहरू बढेको बताउँदै यसलाई न्यूनिकरण गर्न जरूरी भएको प्रहरी बताउँछ। त्यसका लागि प्रहरीले पनि करारमै भए पनि मनोसामाजिक परामर्शदाता राख्न जरूरी भएको एसएसपी कार्कीले बताए।
‘आत्महत्या गर्न खोज्नेहरूसँग कुराकानी गरेर मात्रै पनि आधा समस्या समाधान हुन्छ। घरमा, साथी भाइहरूले नसुनिदिएको वा सुनाउन नसकेर मात्रै पनि धेरै यस्ता घटनाहरू भइरहेका हुन्छन्,’ उनले भने, ‘त्यसका लागि प्रहरी कार्यालयमा साइकोसोसियो काउन्सलर राख्न जरूरी छ।’
आत्महत्या गर्नेहरू सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका छन्। आव ०७९/०८० मा यो समूहका १२६ जनाले आत्महत्या गरेका थिए। ३६ देखि ४५ वर्षका १११ जना १९ देखि २५ वर्षका ५६ जना र ४६ देखि ६० वर्षका ४८ जनाले आत्महत्या गरेका छन्।
१८ वर्षमुनिका १० जना र ६० वर्षमाथिका ५ जनाले आत्महत्या गरेको तथ्यांक छ।