लागुऔषध गाँजा लिनलाई नाबालिकाको प्रयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-२६ बाट पर्सा धोबीनी गाउँपालिका-५ का २७ वर्षीय फैज उल्लास साहलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए।
उनले अमेरिकाबाट आएको गाँजा लिनका लागि १६ वर्षीया नाबालिकालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पठाएका थिए। अमेरिकाबाट आएको सामान लिएपछि प्रहरीले नाबालिगलाई नियन्त्रणमा लिएको थियो।
सामान चेकजाँच गर्दा २ केजी गाँजा भेटिएपछि नाबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको एसपी जोशीले बताए।
‘नाबालिकालाई सोधपुछ गर्दा साहले परिचालन गरेको भेटियो। त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं,ʼ एसपी जोशीले भने।
यस विषयमा ब्युरोले थप अनुसन्धान गरिरहेको छ।