पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ।
मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४:५० बजे लमही नगरपालिका-९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।
ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी साँस्कृतिक* नगरपालिका-६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका थिए।
ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली बिहान ५ बजे दुर्घटनास्थल पुगेको थियो।
ट्रकका सहचालक लुम्बिनी साँस्कृतिक नगरपालिका-७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँचेका थिए।
दुर्घटनास्थल पुगेको प्रहरी र सुरक्षाकर्मीको टोलीलाई चालकलाई कसरी उद्धार गर्ने भन्ने अन्योल थियो।
‘चालक सिटमा च्यापिएको र ट्रकमा भएको मलले अगाडिको भागमा दबाब दिएरहेकाले तत्काल स्काभेटर प्रयोग गर्नु चालकमाथि थप खतरा हुन्थ्यो,’ अमेलियाका इन्सपेक्टर बर्तौलाले भने।
'सिटमा च्यापिए पनि चालक बोलिरहेका थिए। ‘नआत्तिउन् भनेर हामी उनीसँग बोलिरहेका थियौं,’ इन्सपेक्टर बर्तौलाले भने।
केहीबेरमा त्यहाँ बाँके र दाङबाट प्रहरीको टोली आइसकेको थियो। नेपाली सेनाको टोली पनि दुर्घटनास्थल पुगिसकेको थियो। प्रहरीले ग्यास कटर, ग्रेन्डर मेसिन, गल र काठ काट्ने आरी जुटायो।
‘पहिला ट्रकमा रहेको मल हटायौं, ढोका काटेर पहिले ब्याट्री निकाल्यौं। के- के अवरोधहरू थिए क्रमैसँग एउटाएउटा हटाएर बिस्तारै निकाल्यौं। हतार गर्दा थप च्यापिन सक्ने खतरा हुन्थ्यो त्यसकारण अवरोधहरू हटाउँदै गयौं र ह्यान्डिल, क्लज र ब्रेकलाई ग्रेन्डर मेसिनले काटेपछि चालक आफै यता सरे र उद्धार गरेर उनलाई अस्पताल पठायौं,’ इन्सपेक्टर बर्तौलाले भने।
यी काम गर्न प्रहरीलाई झन्डै साढे चार घन्टा लाग्यो।
ट्रकको ब्रेक र क्लजले चालकको खुट्टा र ह्यान्डिलले छाती च्यापिँदा उनी गम्भीर घाइते भएका छन्। 'बाहिरी चोटपटक खासै छैन तर त्यति धेरै बेर च्यापिँदा शरीरको भित्री भागमा असर गरेको हुनसक्छ,' इन्सपेक्टर बर्तौलाले भने।
चालकको खुट्टा र छातीमा असर गरेको छ। नेपाली सेनाको टोलीले प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेज पठाइएको इन्सपेक्टर बर्तौलाले जानकारी दिए।
*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ। - सम्पादक