रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युतका पोलहरूमा जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन सुरू गरेको छ।
मेयर रामकृष्ण खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएर उक्त कार्यको सुरूआत गरेका हुन्।
बुधबार बिहान बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको सुरूआत गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख खाणले पोलहरूमा जथाभावी टाँगिएका तारहरूले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताए।
‘एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन्, पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेको छ,’ खाणले भने।
नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तारहरूको व्यवस्थापन हुन नसक्दा नगर नै कुरूप भइरहेको बताइन्।
‘हामीले पटक पटक अनावश्यक तारहरू हटाउन आग्रह गरेका थियौं, अहिले सबैसँग छलफल गरेर व्यवस्थित गर्न थालिएको हो,’ उनले भनिन्।