बुटवल उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले गत आर्थिक वर्षमा नियमित सेवा दिए बापत पाउनुपर्ने यातायात खर्च रकम नपाएको गुनासो गरेका छन्।
यसअघिका निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक १ हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय अहिले कार्यान्वयन नगरेको भन्दै बुधबार उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हुन्।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ बुटवल उपमहानगर समितिका अध्यक्ष रूक्मिणि भट्टराईले सेवासुविधाबारे २०७८ साल चैत २५ गते उपमहानगरपालिकाको राजपत्रमा समेत प्रकाशित भइसके पनि पछिल्लो एक वर्ष यता यातायात खर्च बापतको रकम पाउन नसकेको गुनासो गरिन्।
भट्टराईका अनुसार बुटवलमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सेवा अवधिभरी यातायात खर्च बापत मासिक १ हजारका दरले एक वर्षको १२ हजार र चाडपर्व खर्च बापत वार्षिक ३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो।
त्यस्तै अवकाश भएर जाँदा ५ वर्षसम्म काम गरेकालाई वार्षिक ५ हजार, ५ देखि १० वर्षसम्मलाई ७ हजार, १० देखि १५ वर्षसम्मलाई ८ हजार, १५ देखि २० वर्षसम्मलाई ९ हजार र २० वर्षदेखि माथिकालाई १० हजारका दरले अवकाश वापतको एकमुष्ट रकम दिने उपमहानगरको कार्यपालिकाले निर्णय गरेको थियो।
‘वर्षैभरी बुटवलका टोलटोलमा हिँडेर बालबालिकाहरूलाई विभिन्न खोप लगाउने, स्वास्थ्य, सरसफाइ र शिक्षा जस्ता सार्वजनिक सूचनाहरू घरघरमा पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूको श्रमको कुनै मूल्य नै देखिएन,’ भट्टराईले गुनासो गरिन्।
महिला स्वास्थ्य स्वयंसेविकाहरूको ध्यानाकर्षण पत्र बुझ्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मासिक पाउनुपर्ने यातायात रकम किन रोकिएको हो लेखाशाखासँग बुझ्ने बताए।
अवकाशपछि एकमुष्ट उपलब्ध गराउने सुविधाको विषयमा भने यसअघिका जनप्रतिनिधिले आफू जाँदाजाँदै गरेको निर्णय भएकाले थप अध्ययन गरेर मात्रै अगाडि बढाइने पाण्डेले बताए।
‘यसअघिका मेयर शिवराज सुवेदीको नेतृत्व कार्यकाल पुरा गरेर जाँदाजाँदै गरेको निर्णय हो, उहाँले आफू रहँदासम्म किन निर्णय गरेर कार्यान्वयन गर्नुभएन, कार्यकाल पुरा हुनैलाग्दा गरिएको निर्णय भएकोले अध्ययन गरेर मात्र के गर्न सकिन्छ भन्न सकिएला,’ पाण्डेले भने।
महिला स्वास्थ्य स्वयंसेविकाहरूले भने अघिल्लो नेतृत्वले गरेका अन्य निर्णयहरू कार्यान्वयन गरिरहेको उपमहानगरपालिकाले आफूहरूको विषयमा भने बेवास्ता गरेको गुनासो गरे।
‘यसअघिको नेतृत्वले गरेका निर्णय अनुसार अहिलेका जनप्रतिनिधिले आफ्नो तलबभत्ता सेवा सुविधा लिन हुने, स्वयंसेविकाको विषयलाई भने अघिल्लो नेतृत्वले गरेको निर्णय भनेर उम्किन मिल्दैन,’ भट्टराईले भनिन्।
अध्यक्ष भट्टराईले उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल लामो समय महिला स्वास्थ्य स्वयंसेविका बुटवलको अध्यक्ष रहेर काम गरेपनि अहिले भने आफूूहरूका समस्याप्रति बेवास्ता गरेको बताइन्।
‘उपप्रमुख स्वयं लामो समय स्वयंसेविकाहरूको अध्यक्ष भएर बुटवलमा काम गर्नुभयो, अहिले उहाँ निर्णय गर्ने स्थानमा पुगेपछि भने पछाडि फर्किन बिर्सिनुभयो,’ उनले गुनासो गरिन्।
भट्टराईले निर्णय गरिएको सुविधा उपमहानगरपालिकाले समयमै उपलब्ध नगराएमा श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ अनुसार आफ्ना गतिविधि अगाडि बढाउन बाध्य हुने बताइन्।
१९ वडा रहेको बुटवल उपमहानगरपालिकाभित्र १७७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।