काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता अभियान सुरू गरेको छ।
प्रहरीको आर्थिक वर्ष २०८०/०८१को कार्ययोजना अन्तर्गत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन अभियान सञ्चालन गरेको हो। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ आर्थिक वर्ष सुरूहुनुअघि नै कार्ययोजना प्रस्तुत गरेका थिए।
त्यसअनुसार उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
बुधबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले सामुदायिक प्रहरी कर्मचारीहरूलाई व्यवसायिक क्षमता अभिवृद्धिका लागि अनुशिक्षण प्रदान गरेका थिए।
उपत्यकाका विभिन्न युनिटमा रहेका ८३ जना सामुदायिक प्रहरीहरूलाई एआइजी ज्ञवालीले काठमाडौं उपत्यकालाई सुरक्षित बनाउनमा लाग्न निर्देशन दिएका थिए।
अहिले सामुदायमा आवश्यक पर्ने व्यक्तिहरूको सहयोग, सम्भावित दुर्घटना, सम्भावित अपराधलाई नियन्त्रण गर्न सामुदायिक प्रहरीहरूलाई खटाएको उनले बताए।
यसरी ठाउँठाउँमा खटिँदा सूचना संकलनमा पनि सहज हुने र कुनै घटना निम्तिएपनि छिटो सूचना प्रवाह गर्दा त्यसलाई न्यूनिकरण वा रोक्न समेत सकिने एआइजी ज्ञवालीले बताए।
‘पहिले तपाईंहरू सामुदायिक प्रहरीको जिम्मेवारी मात्रै थियो। तर अब तपाईंहरूमा थप जिम्मेवारी थपिएको छ। ट्राफिक व्यवस्थापन, आवश्यक व्यक्तिहरूलाई जेब्राक्रसिङमार्फत बाटो काट्न मद्दत गर्ने, सूचना प्रदान गरी अपराध नियन्त्रण गर्ने जस्ता जिम्मेवारीहरू छन्,’ एआइजी ज्ञवालीले भने, ‘सूचना समयमा दिन सकियो भने अपराध नियन्त्रण हुन्छ। समाजमा शान्ति कायम रहन्छ।’
यस्तै प्रहरीहरूले पाउने दैनिक अनुशिक्षणले काममा पनि निखारता ल्याउने र व्यावसायिक बनाउने उनको भनाई थियो।
कार्यालयले अहिले विभिन्न कार्यक्रम गरी प्रहरीलाई तालिम प्राप्त गर्दै आएको छ।
प्रविधिसँग जोडेर अनुसन्धानलाई प्रभावकारी बनाउने, सवारीसाधन चालकहरूलाई सुरक्षित ड्राइभिङको तालिम दिने, सामुदायिक साझेदारीको कामलाई थप प्रभावकारी बनाउने लगायत तालिम दिइएको छ।
पीडितलाई थप पीडा नपुग्नेगरी काम कारबाही अगाडि बढाउने र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने, पीडितसँग नम्र र मिठो बोलिबचन गर्ने जस्ता विषयमा पनि अनुशिक्षण दिइएको छ।
यसरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउनका लागि सबै एकजुट हुनुपर्ने पनि कार्यालयले जनाएको छ।
त्यसैगरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन प्रविधिले पनि मद्दत गरेको एआइजी ज्ञवालीले बताए।
उनले सिनामंगलमा बम फेला परेको घटनाको अनुसन्धानमा पनि सिसिटिभीको मद्दतले अनुसन्धान प्रभावकारी भएको बताए। यसैगरी तीन महिनाको समयमा २ हजार बढी कारबाहीहरू सिसिटिभी फुटेजको माध्यमबाट भएको उनले बताए।
काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकासँग उपत्यकामा सिसिटिभी जडान गर्न प्रहरीले सहमती समेत गरिसकेको छ।