बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ।
बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार भएको छलफलका क्रममा उपमहागरपालिका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयहरूले मनपरी शुल्क लिएको गुनासो आएको भन्दै नगरले तय गरेको भन्दा बढी शुल्क नलिन आग्रह गरे।
उपमहानगरपालिकाले तय गरेको भन्दा बढी शुल्क लिने विद्यालयलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने पनि उनले बताए।
कक्षा ११ को भर्ना सुरू हुनुअघि संस्थागत विद्यालयहरूसँग आयोजित छलफलका क्रममा उपमहानगर प्रमुख पाण्डेयले विद्यार्थीहरूलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिन निर्देशन दिएका थिए।
‘विद्यालयहरूले विद्यार्थीलाई पढाउने हो, कापी, किताब र पोशाक बेच्ने काम व्यापारीको हो, आफू अनुकुलका पसलहरूबाट मात्रै खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले भने।
उपमहानगर प्रमुख पाण्डेयले विद्यालय सुधार गर्न पहिले विद्यालयको प्रशासनिक कुराहरूमा सुधार ल्याउन अनुरोध गरे। विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउन संस्थागत विद्यालयहरूले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए।
उनले विद्यालयहरूले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धाका नाममा विद्यार्थीमाथि अन्याय नगर्न आग्रह गरे।
उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरेका थिए।
आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउँदै लैजाने उपमहानगरप्रमुख पाण्डेयले प्रतिबद्धता जनाए।