स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।
स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।
तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाका अनुसार अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको छ।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।
बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल पनि भएको थियो। तर, ठोस निष्कर्ष निस्कन सकेन।
सबै तस्बिर: चन्द्रमान तामाङ












