स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ।
स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए।
त्यहाँ केहीबेर झडपको स्थिति सिर्जना भएको स्थानीयले बताएका छन्।
काठमाडौं महानगरपालिकाका अनुसार प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको थियो। ती गाडीको फोहोर विसर्जन गरिएको हो।
स्थानीयले बञ्चरेडाँडा वरपरको मानव बस्ती खाली गर्नुपर्ने भन्दै साउन १ गतदेखि फोहोर विसर्जनमा अवरोध गरिरहेका थिए।
बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल पनि भएको छ। तर, ठोस निष्कर्ष निस्कन सकेन।
आइतबार उपत्यका नगर फोरमका अतिरिक्त धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिका प्रमुख सहितको बैठक बसेर दीर्घकालीन समाधान खोज्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।