राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।
स्रोतका अनुसार विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। भन्सार विभागले उनीहरूको लापर्बाहीका कारण सुन जाँच पास भएको भन्दै उनीहरूलाई शनिबार निलम्बन गरेको थियो।
एक्सरे मेसिनमा शंकास्पद देखिएपनि उनीहरूले जाँच पास गरेर दिएको छानबिनमा देखिएपछि भन्सारले उनीहरूलाई निलम्बन गरेको हो।
अहिले उनीहरूमाथि थप अनुसन्धानको आवश्यक भएकाले विभागले पक्राउ गरेको स्रोतले बतायो।
यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले आइतबार पक्राउ गरेको छ।
भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले गत मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो।
विभागले यसअघि १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन्।
सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइसकेको छ। तर परिमाण कति छ भन्ने यकिन भइसकेको छैन।
यो पनि: सुन प्रकरणमा भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बित