नक्कली उपसचिव बनेर लाखौं रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई काठमाडौंको गोकर्णेश्वर-८ बस्ने ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ४० वर्षीय लीलाबहादुर भ्लोन छन्।
उनीहरूलाई परिसर र प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
यस ठगी प्रकरणका तीन जना अझै फरार छन्। मकवानपुरका भीम भ्लोन, मिलन तामाङ र पेम्बा तामाङलाई प्रहरीले खोजिरहेको छ।
नक्कली कार्यालय खोलेको भवन। तस्बिर: प्रहरी।
एसएसपी कार्कीका अनुसार उनीहरूले बुढानिलकण्ठ नगरपालिका-५ स्थित बिष्णुबहादुर गुरूङको दुई तले भवन भाडामा लिएका थिए। त्यस घरमा उनीहरूले विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को नक्कली कार्यालय खोलेका थिए। उक्त कार्यालय जेठ १ गतेदेखि सञ्चालनमा आएको थियो।
कार्यालय प्रमुखका रूपमा घनश्याम कटुवाल थिए। तर उनले आफ्नो नाम घनश्याम राखेका थिएनन्। उनी उक्त कार्यालयमा उपसचिव जयराम केसी बनेका थिए।
उनी यस कार्यालयका मात्रै प्रमुख बनेका थिएनन्, ठगी गर्नेमा पनि उनी प्रमुख नै देखिएका छन्।
उनले जस्तै लीलाबहादुरले पनि नाम परिवर्तन गरेका थिए। उनी कार्यालय सञ्चालक एवं शाखा अधिकृत दिनेश गुरूङको नामबाट कार्यरत थिए।
हाल फरार रहेका मिलन जनसम्पर्क अधिकृत, आकाश राई र भीम प्राविधिक इन्जिनियर दिपेश गुरूङको नामबाट कार्यरत थिए।
यस्तै उनीहरूले केही व्यक्तिहरूलाई पछि नियुक्ति दिने गरी खटाएका थिए। ती कर्मचारीहरूलाई उक्त संस्था नै नक्कली हो भन्नेसमेत थाहा थिएन।
उनीहरूले नक्कली कार्यालय सञ्चालन गरी टेन्डर आह्वान समेत गरी ठगी गर्दै आएको भन्ने सूचना प्रहरीले पाएको थियो।
यसरी नक्कली कार्यालय खोलेर ठगी गरिरहेको भन्ने सूचना हरिप्रसाद अर्यालले दिएका थिए। जो आफैं पीडित हुन्।
जयरामले उनीबाट डेस्कटप, कम्प्युटर, ल्यापटप गरी ८ लाख ३६ हजार ९०० रुपैयाँ बराबरको सामान लिइसकेका थिए। तर भुक्तानी दिएका थिएनन्।
राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित एक विज्ञापन देखेपछि हरिप्रसादले टेन्डरका लागि निवेदन दिएका थिए। त्यसअनुसार ४८ लाख बराबरको बोलपत्र स्वीकृत भएको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हरिप्रसादका चिनजान कृषि मन्त्रालयमा कार्यरत एक जना कर्मचारीसँग थियो। यसरी सरकारी कार्यालयमा टेन्डर परेकोबारे उनले ती कर्मचारीलाई सुनाएका थिए।
‘तर त्यस्तो खालको कार्यालय नै नभएको भनेर उनले हरिप्रसादलाई भनेपछि असार २९ गते प्रहरीलाई खबर आएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।
ठगी भइरहेको खबर आएपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अंगुर जिसी नेतृत्वको टोली खटियो। कार्यालयमा सबै नयाँ फर्निचर, नयाँ ल्यापटप कम्युटरहरू समेत राखिएका थिए। केही कर्मचारीहरू फेला परे पनि जयराम फेला परेनन्।
अनुसन्धानको क्रममा जयरामले हरिप्रसादलाई जस्तै अन्यलाई पनि ठगेको खुल्यो। फर्निचर, खाद्यका सामग्री लगायतका लागि पनि टेन्डर आह्वान गरी ठगी गर्ने गरेको खुलेको हो।
अहिलेसम्म ७ जनाले जाहेरीसमेत दिइसकेका छन्।
उक्त कार्यालय सञ्चालन भएको घरका धनी विश्वबहादुरले पनि रकम पाइसकेका छैनन्। उनलाई प्रतिमहिना एक लाख ८० हजार रुपैयाँ भाडा दिने भनिएको थियो। तर उक्त रकम भुक्तानी नहुँदै उनी फरार भए।
शंखर अर्याल भन्ने व्यक्तिबाट उनले स्कार्पियो गाडी भाडामा लिएका थिए। उनीबाट ६ लाख १२ हजार ५०० रुपैयाँसमेत ठगी गरेको आरोप छ।
८५ हजारको स्टेशनरी सामान नवराज पाण्डेबाट खरिद गरी भुक्तानी दिएनन्।
त्यसैगरी दीपेन्द्र धरेलबाट कार्यालय स्थापनाका लागि कार्पेट, पर्दा, कुर्सी, टेबल, दराज लगायतका सामानहरू १५ लाख ६० हजार ३०४ रुपैयाँ बराबरको लगिसकेका थिए।
गणेश शाहबाट युनिफर्म कपडा र खाद्यान्न टेन्डरको लागि धरौटीको रूपमा ११ लाख २७ हजार ९५० रुपैयाँसमेत जम्मा गर्न लगाएर ठगी गरेको परिसरले जनाएको छ।
यस्तै विष्णु अर्यालबाट अर्को एउटा कार समेत भाडामा लिएको पाइएको छ।
‘जयरामले कहीँ पनि पैसा तिरेका छैनन्। गाडीहरू भाडामा लिएर पनि पैसा तिर्दैनन्। गाडीमा तेल हाल्नलाई समेत उनले ड्राइभरको पैसा खर्च गरेका छन्,’ एक प्रहरीले भने।
उनलाई खोज्दै प्रहरी काठमाडौंको आरूबारीस्थित घरमा पनि पुगेको थियो। तर उनी त्यहाँ फेला परेनन्। त्यहाँ पुगेपछि बल्ल जयरामको वास्तविक नाम घनश्याम भएको खुलेको थियो।
उनको घरबाट प्रहरीले दुई लाख नगद बरामद गर्यो। आइतबार भने प्रहरीले उनलाई ट्र्याक गर्ने क्रममा भक्तपुरमा फेला पारेको हो। उनले भक्तपुरमा पनि कोठा भाडामा लिएर बसिसकेका थिए।
एसएसपी कार्कीका अनुसार उनी यसअघि पनि ठगी एवं बैंकिङ कसुरमा जेल परिसकेका छन्।
‘जेल परेर हालसालै छुटेका व्यक्ति हुन्। तीन वर्ष जेल परे। पहिले पनि तराईका जिल्लाहरूमा पूर्वसिडिओ, पूर्वआइजिपी, पूर्वसचिव, पूर्वउपसचिव भनेर ठगी गरेको खुलेको छ,’ उनले भने।
घनश्याममाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमतिसमेत लिइसकेको छ।
यसरी विभिन्न ठाउँमा नक्कली अफिस खडा गर्न सक्ने भएकाले कार्यालयको वास्तविकताबारे पहिचान गरेर मात्रै काम गर्न प्रहरीले अनुरोध गरेको छ।
‘वास्तविक कार्यालय हो कि होइन भनेर यकिन गर्न जरूरी छ। दर्ता भएको छ/छैन भनेर बुझ्ने र नक्कली हो भन्ने जानकारी भए प्रहरीलाई खबर गर्न म अनुरोध गर्छु,’ एसएसपी कार्कीले भने।