दुई दिन देखिको लगातारको वर्षाले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र डुबानमा परेको छ।
वर्षाको पानीले निकास नपाउँदा अधिकांश मन्त्रालय परिसर जलमग्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालयभित्र समेत पानीले जलमग्न भएको छ।
डुबानका कारण मन्त्रालयभित्र र बाहिर आउजाउका लागि जुत्ता फुकाल्नुपर्ने भएको छ।
मन्त्रालय राखिएका भवनहरू होंचो स्थानमा रहँदा डुबानको समस्या भएको कर्मचारीहरू बताउँछन्। प्रदेशका गृहमन्त्रीको सुविधाको लागि गृह मन्त्रालयमा जान आउन भने कुर्सी राखेर फड्के बनाइएको छ।
मन्त्रालय परिसरमा राखिएका फलामे कुर्सीमा टेकेर गृहमन्त्री सन्तोष पाण्डेसहित त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीहरू कार्यालयभित्र आवतजावत गर्ने गरेका छन्।
डुबानका कारण अरू मन्त्रालयहरूमा आवतजावत बन्द हुँदा गृह मन्त्रालयमा भने कुर्सी राखेर बनाइएको फड्केले केही भए पनि सहज बनाएको छ।
डुबानका कारण मन्त्रालयमा आवतजावतमा निकै सास्ती भइरहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।