काठमाडौंको प्रहरी प्रभाग, बुढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सिंहले सेवाग्राहीसँग एक लाख नगद लिइसकेको अवस्थामा बुधबार साँझ बुढानीलकण्ठ नगरपालिका-२ वासिकबाट पक्राउ गरिएको हो।
कुखुरे खोला ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्किने बालुवा व्यवस्थापन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोप सिंहमाथि छ।
उनले घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो। सूचना पाएपछि टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
अख्तियारले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।