प्रसूति गराउँदा लापरबाही गरेको भन्दै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले प्रदर्शन भइरहेको छ।
बेथाले च्यापेपछि घोराही उपमहानगरपालिका–१६ की २१ वर्षीया झरना विकलाई राति १२ बजेतिर प्रतिष्ठानमा लगिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार प्रतिष्ठान प्रशासनले बच्चाको डाक्टर त्यतिखेर अस्पतालमा नरहेको भन्दै अन्यत्र लैजान सल्लाह दिएका थिए।
तर, झरनाका श्रीमान र घर परिवारका सदस्य अन्त नलगेर प्रतिष्ठानमै प्रसूति गराउने भन्दै राखेका थिए। बच्चालाई भ्याकुम लगाएर तानिए पनि बच्चा नरोएको हुँदा बाँकेका लागि रिफर गरिएको थियो।
बाँके पुर्याउनासाथ चिकित्सकले बच्चालाई मृत घोषणा गरेका थिए। त्यसैको विरोधमा शुक्रबार मध्याह्न १२ बजेदेखि विकका आफन्तले अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै प्रतिष्ठान अगाडि प्रदर्शन गरिरहेको डिएसपी गौतमले जानकारी दिए।
सुरक्षाको लागि केही प्रहरी खटाइएको उनले बताए।