कैलालीमा क्लिनिक सञ्चालनको मापदण्ड पूरा नगरी मेडिकल सञ्चालन गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
अनुमति नलिएका, सिफारिस गर्न नमिल्ने औषधि बिक्री, क्लिनिक सञ्चालनका सामान्य मापदण्ड पनि पूरा नगरेका गैरकानुनी रूपमा चिकित्सकीय सेवाको दुरूपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत दीपेन्द्रकुमार शाह र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्याल नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनगगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित अर्जुन क्लिनिकका सञ्चालक अर्जुन कुँवर, देवरीयाकी २१ वर्षीया कमला बोहरा, एभरेस्ट मेडिकलका सञ्चालक अमर चौधरी, मानवी फार्मेसीका सञ्चालक नवीन धामी, फारवेस्ट प्याथलोजीका सञ्चालक दीपक महरा र रेस्मी क्लिनिकका सञ्चालक गोरखबहादुर श्रेष्ठ छन्।
उनीहरूमाथि इलाजसम्बन्धी मुद्दा दर्ता गरेर म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।