काठमाडौंको इतुम्बहा: स्थित केशचन्द्र महाविहारमा बनेको म्युजियमको उद्धाटन भएको छ।
शनिबार आयोजित एक कार्यक्रममा उक्त म्युजियमको उद्धाटन भएको हो।
केशचन्द्र महाविहारलाई काठमाडौंको सबभन्दा पुरानो र महत्वपूर्ण महायान बौद्ध महाविहार मानिन्छ।
यहाँ अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमसँगको सहकार्यमा संग्रहालय खुलेको हो।
भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षक समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुई वर्षदेखिको प्रयासले यहाँ म्युजियम बनेको बताए।
‘करिब दुई वर्षदेखिको अथक प्रयासपछि आज यस इतुम्बाहाः म्युजियमको उद्घाटन भएकोमा खुशी व्यक्त गर्न चाहन्छु। यसलाई नेपालको पहिलो विहार संग्रहालय हो भन्दा अत्युक्ति नहोला,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
म्युजियम बनाउन रूबिनसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको समाजले बताएको छ।
इतुम्बहा: मा म्युजियम खोल्न लागेको भन्दै केही दिनयता स्थानीय एवं अभियानकर्ताहरूले विरोध जनाएका छन्।
शुक्रबार इन्द्रचोकमा केही अभियन्ताहरूले म्युजियमको विरोध गरेका थिए। जीवित सम्पदाको रूपमा रहेको महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। उनीहरूले यसलाई विदेशी हस्तक्षेपको रूपमा लिएका छन्।
यो पनि: इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि विरोध
इतुम्बहा:को महाविहारमा कसरी छिर्यो रूबिन म्युजियम?