रोटरी क्लब अफ नारायणगढले मकवानपुरको मनहरीमा रहेको आमा घर सेवा आश्रमलाई खाद्यान्न तथा बिरूवा सहयोग गरेको छ।
स्पाउस क्लबका सदस्यहरूसहित पुगेको रोटरी क्लबको समूहले आमा घरलाई एक लाख रुपैयाँ बराबरको सहयोग गरेको हो।
मनहरीस्थित पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले आमा घर सञ्चालन गर्दै आएको छ। यहाँ विभिन्न कारणले परिवार गुमाएका वा परिवारमा रहन नसकेका वृद्धाहरूलाई आश्रय दिने गरिएको छ।
क्लबका अध्यक्ष भोलानाथ लामिछानेले क्लबको नियमित कार्यक्रमअन्तर्गत आमा घरका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको बताए।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले व्यवस्थापन गर्दै आएको पिस पार्कका लागि विभिन्न ३० प्रकारका बिरूवाहरू उपलब्ध गराएर वृक्षारोपण पनि गरिएको लामिछानेले बताए।
पूर्वअध्यक्ष सहनलाल प्रधानले रोटरी क्लब अफ नारायणगढले आमा घरमा दोस्रो पटक सहयोग गरेको बताए। क्लबले चितवन, तनहुँ र नवलपरासीमा पिउने पानीका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको प्रधानले बताए।
साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्लबले सहयोग गर्ने गरेको उनले बताए।
सो अवसरमा क्लबका सदस्यहरूले व्यक्तिगत रूपमा पनि सहयोग गरेको स्पाउस क्लब अफ रोटरी क्लव नारायणगढकी अध्यक्ष पूर्णिमा श्रेष्ठले जानकारी दिइन्।
आमा घर सेवा आश्रमकी प्रमुख रेवती घिमिरेले आश्रममा आश्रयका लागि आइपुग्ने आमाहरूलाई परिवारमै रहेको अनुभूति दिनेगरी सेवा दिने गरेको बताइन्।
सहयोग हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती, आमा घरका संरक्षक विजयराज सिग्देल पनि सहभागी थिए।
