झापाको काकडभिट्टामा शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको सामानसहितको एउटा कन्टेनर भन्सार प्रक्रिया पूरा गरेर बाहिरिएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ।
भन्सार नतिरी सामानसहितको कन्टेनर बाहिरिएको समाचार सार्वजनिक भएपछि कार्यालयले विज्ञप्ति जारी गरी यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै जानकारी दिएको हो।
पुरानो भन्सारमा शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ना २ ख ४९०२ नम्बरको कन्टेनर र त्यसभित्रको सामान भन्सार कार्यालय भित्रैबाट नियमित प्रक्रिया पूरा गरेर बाहिरिएको सो कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए।
'उक्त कन्टेनर शुक्रबार दिउँसो १२.३२ बजे नेपालतर्फबाट उक्त खाली कन्टेनर भन्सार परिसर प्रवेश गरेको थियो। सोही दिन सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स नामबाट काकरभिट्टासम्म लैजाने गरी भन्सार-एजेन्ट ढकेन्द्र कार्कीले भन्सार बुझाएको अभिलेख छ,' लम्सालले भने।
काँशको झ्याम्टा १२८१ जोडी, कालो साबुन २०० किलो र हुक्कामा प्रयोग हुने कोइला ३६० किलोको एक लाख ५६ हजार ७ सय ९० रूपैयाँ राजस्व बुझाएको उनले बताए।
भन्सार प्रक्रिया पूरा गरेपछि उक्त कन्टेनर शुक्रबार साँझ ६.४० बजे भन्सार गेटबाट 'एक्जिट नोट' सहित बाहिरिएको भन्सार कार्यालयको अभिलेखबाट देखिएको पनि उनले बताए।
'कन्टेनर प्रहरीको नियन्त्रणमा परेको विषयमा र यसबारे आएको समाचारबारे भने सम्बन्धित निकायको अनुसन्धान सकिएर जानकारी आएपछि मात्र थप कुरा गर्न सकिन्छ,' उनले भने।
सम्बन्धित समाचार- झापामा एक करोडको सामानसहित कन्टेनर बरामद
