काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको हत्या भएको छ।
बुढानीलकण्ठ नगरपालिका-४ भसन्थलीमा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।
सप्तरी घर भई भसन्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ। डिएसपी अधिकारीका अनुसार उनीहरू छिमेकी हुन्।
आइतबार राति उनीहरूबीच विवाद हुँदा बोहराले चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहार हुँदा चौधरी गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा गएराति मृत्यु भएको हो।
घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई पक्राउ गरेको थियो।