सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।
इन्टरपोलमार्फत् मलेसियाबाट एक जना पुरूषलाई पक्राउ गरी काठमाडौं ल्याएको साइबर ब्युरोका एसपी पशुपतिकुमार रायले जानकारी दिए।
म्याग्दी मंगला गाउँपालिका-५ सिर्कुम घर भई वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका प्रकाश जैसी भन्ने प्रकाश विकलाई पक्राउ गरेको हो।
उनले एक जना अपरिचित महिलासँग चिनजान गरी म्यासेन्जरमा कुराकानी गरेका थिए। त्यसक्रममा अश्लिल संवाद हुँदा उनले महिलाको भिडिओ रेकर्ड गरेका थिए।
रेकर्ड गरी सामाजिक सञ्जालमा अपलोड गरी पीडितका आफन्त, साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा उनी मलेसियामा रहेको थाहा पाएपछि इन्टरपोलमार्फत् पक्राउ गरी काठमाडौं ल्याइएको हो।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको छ।