प्लास्टिक सर्जरीलाई दुई भागमा विभाजन गरिन्छ। एउटा रिकन्स्ट्रक्टिभ सर्जरी हो भने अर्को कस्मेटिक सर्जरी हो। रिकन्स्ट्रक्टिभ सर्जरीमा जन्मजात अंगभंग भएको, अंगहरू नमिलेको अथवा आगोले पोलेर अंगभंग भएको दुर्घटनामा परेर अंगभंग भएको मिलाउने लगायत पर्छन्।
शरीरको भएको कुनै भाग चित्त नुबझेर त्यसलाई हटाउने अथवा मिलाउने काम कस्मेटिक सर्जरीमा पर्छ। शरीरको सौन्दर्य अझै बढाउने सर्जरी कस्मेटिक सर्जरी हो।
प्लास्टिक सर्जरीको बारेमा मानिसहरूलाई धेरै भ्रम छ। प्लास्टिक सर्जरीमा प्लास्टिकको प्रयोग कहिल्यै पनि हुँदैन। तर धेरैलाई त्यस्तो लाग्छ। प्लास्टिक सर्जरी गरेर मान्छे नै अर्को बनाउन मिल्छ भन्ने पनि भ्रम छ। यो चलचित्रमा देखाएजस्तो हुँदैन।
धेरैजसो मानिसहरू प्लास्टिक सर्जरी गर्नलाई आगोमा पोलेको, दुर्घटनापछि अंगभंग भएको, जन्मजात ओठ तालु फाटेको लगायतका समस्या लिएर आउँछन्।
कस्मेटिक सर्जरीमा विगत ५\७ वर्षदेखि आँखाको सर्जरी, नाकको सर्जरी, स्तनको सर्जरी, पेटको आकार घटाउने सर्जरी बढी पर्छ।
अनुभवी चिकित्सकले प्लास्टिक सर्जरी गरेमा धेरै भरपर्दो छ। अहिले प्लास्टिक सर्जरीका लागि विदेश जाने क्रम कम भएको छ।
विदेशमा बस्ने नेपाली समेत नेपालमा आएर सर्जरी गराउन थालेका छन्। यसका मुख्य तीन कारण छन्।
पहिलो, विदेशमा कस्मेटिक सर्जरी बीमामार्फत हुँदैन। दोस्रो, नेपालको तुलनामा त्यहाँ उपचार धेरै महँगो छ र तेस्रो, नेपालमा गुणस्तरीय उपचार समेत हुन थालेको छ।
अनुहारको सर्जरीमा आँखा, नाक, गालामा डिम्पल बनाउने, चाउरी परेको गालाको छाला तन्क्याउने सर्जरी पर्छन्। त्यस्तै स्तनको सर्जरीमा सानो स्तनलाई ठूलो बनाउने र ठूलो भएर लत्रिएका स्तनलाई सानो बनाउने हुन्छ।
पेटको सर्जरी अन्तर्गत पेटको बोसो तान्ने गरिन्छ। यसको कुनै साइड इफेक्ट हुँदैन। तर यो ठूलो सर्जरी हो। हामीले गरेका सर्जरीमा अहिलेसम्म कुनै समस्या आएको छैन।
मैले ६\७ वर्षदेखि विदेशमा बस्ने नेपालीलाई कस्मेटिक सर्जरी गरेको छु। सुरूमा वर्षको ५\७ जना मात्रै हुन्थे तर अहिले महिनामै ४\५ जना आउँछन्। अहिले त भुटानीहरू समेत आउँछन्। उनीहरू थाइल्याण्ड जाने रहेछन्। नेपालको सेवा गुणस्तरीय भएकाले यहाँ आएका रहेछन्।
प्लास्टिक सर्जरीको लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पद्धति प्रयोग हुन्छ। यसको साइड इफेक्ट हुँदैन। तर अनुभवी चिकित्सक परेन भने धेरै खतरा समेत हुन सक्छ।
नेपालमा आगोले पोलेर जटिल समस्यामा परेकाबाहेक सबैको उपचार सम्भव भएको छ। जलनपछिको दागलाई मेटाउन भने कतै पनि सम्भव छैन।
१८ वर्षभन्दा माथिका सबैको प्लास्टिक सर्जरी गर्न सकिन्छ। माथिल्लो उमेरको हक भने केही छैन। सुगर, प्रेसरको समस्या नभएका सबैलाई प्लास्टिक सर्जरी गर्न सकिन्छ।
(वरिष्ठ कस्मेटिक प्लास्टिक सर्जन डा. जसवन शाक्य ग्राण्डी अस्पताल टोखा र स्वास्थी लेजर एण्ड स्किन केयर नक्सालमा कार्यरत छन्।)