कञ्चनपुरमा ३५ वर्षीय कुवेर दमाईको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन्।
कुवेरको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका २२ वर्षीय अजय दमाई र २८ वर्षीय हरिश दमाई छन्।
अजय मृतकका भतिज र हरिश भान्जा हुन्।
अनुसन्धानको क्रममा प्रहरीले उनीहरूमाथि शंका गरेको थियो। संलग्नता नै देखिएपछि उनीहरूलाई पक्राउ गरेको डिएसपी डाँगीले बताए।
उनीहरूमाथि अहिले प्रारम्भिक सोधपुछ भइरहेको छ।
कार्यालयका डिएसपी डाँगीका अनुसार कुवेर, अजय र हरिश तीन जना साउन १५ गते राति बन्द नदीमा पुगेका थिए।
राति १० बजे नदी किनारमा बसेर उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। त्यसैबीच अजय र हरिशले घरायसी विषयमा कुराकानी गरेका थिए।
कुवेरले प्राय: मापसे गरी घरमा आमा-बुवालाई दु:ख हैरानी दिने गरेको भन्दै भतिज र भान्जाले सम्झाउन खोजेको प्रहरीसमक्ष भनेका छन्। कुवेरले मापसे गर्न घरका सामान समेत बेच्ने गरेको बताएका छन्।
नदी किनारमा भतिज र भान्जाले सम्झाएर घरमा दु:ख नदिन भनिरहँदा विवाद सुरू भएको डिएसपी डाँगीले बताए।
करिब ११ बजेपछि विवादले उग्र रूप लिएपछि भतिज अजय र भान्जा हरिशले कुवेरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
दुई जनाले कुवेरमाथि हातले, खुट्टाले हिर्काएर बगरमा रहेको ढुंगाले टाउकोमा हिर्काएर हत्या गरेको डिएसपी डाँगीले बताए। त्यसरी हिर्काएपछि कुवेरको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा देखिएको छ।
घटनापछि कोही कसैले थाहा नपाउन अजय र हरिशले कुवेरको शव सोही ठाउँमा खाडल खनेर पुरेका थिए।
कुवेरको शव घटना भएको चार दिनपछि बिहीबार फेला परेको थियो। स्थानीयले नदी किनारमा शव गाडिएको जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको अनुसन्धानमा दुई जनाको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। आइतबार जिल्ला अदालतमा पेश गरी उनीहरूमाथि थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ।