महिनाको ५० देखि ६० हजार रुपैयाँ कमाइ हुने भन्दै सामाजिक सन्जालमा विज्ञापन गरिरहेको इटहरीको एकेएम ग्रुपमा उपमहानगरले छापा मारेको छ।
पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलसहितको टोलीले आइतबार ग्रुपको कार्यलयमा छापा मारेको हो।
कर्मचारीहरूलाई ६० हजारसम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थालेपछि छापा मारिएको इटहरीका मेयर पौडेलले बताए।
त्यसक्रममा ग्रुपको सामान बेच्नका लागि उनीहरूले सर्वसाधरणहरूलाई झुटो विज्ञापन गरेको पाइएको उपमहानगरले जनाएको छ।
महानगरले एकेएम ग्रुपलाई पालिकामा उपस्थित हुन निर्देशन दिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेले सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए।
यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगामी दिनमा यस्ता विज्ञापन गरे कारबाही गरिने उनले बताए।