धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।
आइतबार अपराह्न ४ बजे धादिङको खनियावास गाउँपालिका-४ दार्खाकी ३५ वर्षीया अञ्जु सिंखडामाथि धारिलो हतियार प्रहार भएको हो।
इलाका प्रहरी कार्यालय दार्खाका प्रहरी सहायक निरीक्षक (प्रसनि) धर्मेन्द्र प्रसाद कुर्मीका अनुसार अञ्जुकी छिमेकी ३० वर्षीय सागर पौडेलले उनीमाथि धारिलो हतियार प्रहार गरेका हुन्।
पौडेललाई आइतबार नै पक्राउ गरिएको कुर्मीले जानकारी दिए।
प्रसनि कुर्मीका अनुसार सागर र अन्जु छिमेकी हुन्। ‘घरनजिकैको बारीमा घाँस काट्न गएका रहेछन्। घाँस काट्न लगेको खुर्पाले महिलामाथि प्रहार गरेको रहेछ,’ प्रसनि कुर्मीले भने।
युवकले महिलोको हातमा दुइपटक र टाउकोमा एकपटक खुर्पा प्रहार गरेको प्रसनि कुर्मीले भने। उनको हात र टाउकोमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते अन्जुलाई हिजै काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।
पौडेललाई भाग्दै गरेको अवस्थामा घटनस्थलबाट केही पर पक्राउ गरिएको कुर्मीले जानकारी दिए।
सामान्य सोधपुछका क्रममा उनले आफूसँग ठूलो स्वरले बोलेको कारण खुर्पाले हानेको बताएका छन्।
प्रसनि कुर्मीका अनुसार पक्राउ परेका पौडेल यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए। यस्तै प्रक्रितिको घटनामा जेल सजाय भोगेर उनी चार पाँच महिनाअघि मात्रै जेलबाट छुटेको कुर्मीले जानकारी दिए।
उनलाई हिजै जिल्ला प्रहरी कार्यालय पठाइएको उनले बताए।