सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
जिल्लाको शारदा नगरपालिका-१३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दामोदर केसीले सेतोपाटीलाई बताए ।
आरोपितलाइ प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी केसीले जानकारी दिए ।
आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई मंगलबार बिहान चार बजेतिर नवीनले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। बुवाआमा सुतिरहेको समयमा छोराले आमालाई मात्रै लाठी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
नवीन घरको जेठा छोरा हुन् भने उनका भाइ रोजगारीको सिलसिलामा भारत छन् । शारदाकी सुत्केरी छोरी भने आफन्तका घरमा पाहुना लाग्न गएकी थिइन ।
बिहान ६ बजेतिर प्रहरीलाई सूचना आएको र प्रहरी पुग्न आधा घन्टा लागेको जिल्ला प्रहरी कार्यालयको संचार शाखाका प्रहरी हवल्दार प्रेम केसीले बताए। ‘हत्या आरोपितको मानसिक सन्तुलन ठीक थिएन भन्ने छ,’ हवल्दार केसीले भने ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’
भण्डारी परिवारले देवता सार्न आँटेको भन्ने गरेको छिमेकीले बताएका छन्। तीन दिनपहिले पनि शारदा नगरपालिका–१४ की ४५ वर्षीया प्रमिला गिरीको बिहान घर नजिकै मकै बारीमा घाँस काट्न गएको समयमा घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपित व्यक्ति नाताले जेठाजु पर्ने र ती फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
हप्ता दिन आसपासका दुई हत्याका घटनाले स्थानीय त्रसित छन्।