गएरातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न नदी तथा खोलामा आएका बाढीले मानिसहरू प्रभावित भएका छन्।
अविरल वर्षासँगैको बाढीका कारण कैलालीको कैलारी गाउँपालिका–५ र बसन्ता क्षेत्रका करिब २५० घरपरिवार विस्थापित भएका छन्।
घरभित्र बाढी पसेपछि उनीहरूलाई सुरक्षा निकाय र स्थानीयहरूले उद्धार गरी सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र बमले गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, बसन्ता, नारायणपुर लगायतका बस्तीमा पानी पसेर २५० घरपरिवार विस्थापित भएको जानकारी दिए।
विस्थापित भएका बासिन्दालाई अहिले स्थानीय विद्यालयमा राखिएको छ।
यस्तै, कैलालीकै गोदावरी नगरपालिका–१, २ लगायतका क्षेत्रमा गोदावरी, खुटिया, शिवगंगा नदीमा आएको बाढीले त्यहाँका स्थानीय प्रभावित भएका छन्।
सुरक्षाकर्मीले बाढीमा फसेका गोदावरीका ६ जना स्थानीयलाई उद्धार गरेको छ।
यस्तै, बाढीकै कारण प्रदेशको प्रसिद्ध धार्मिकस्थल गोदावरीधामका विभिन्न भौतिक संरचनामा पनि क्षति पुगेको छ।
नदीमा आएको बाढीले घरमा पानी पसेको बताइएको छ। उनीहरूलाई सुरक्षित ठाउँमा बस्न सुरक्षाकर्मीहरूले सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ। यहाँ बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरा लगायत साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यस्तै, यहाँका ठूला नदी कर्णाली, महाकालीको आसपासमा बस्ने स्थानीयरूलाई सावधानी अपनाउन सम्बन्धित ठाउँका प्रशासनले आग्रह गरेका छन्।