लगातारको वर्षाका कारण दाङको घोराही–लमही सडक खण्डमा झरेको पहिरो हटाएपछि सडकखण्ड पुन: सञ्चालन भएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सडक सञ्चालनमा आएको जानकारी दिए।
केही दिनयता ठूला वर्षा हुनासाथ ठाउँ-ठाउँमा पहिरो झर्ने क्रम सुरू भए पनि त्यसलाई पन्छाएर सडक खोल्ने गरिएको उनले बताए।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको भए पनि खतराको संकेत नजिक नपुगेको जानकारी दिए।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले गुरूबाबा नगरपालिकामा पानी जमेर झन्डै ५० जना स्थानीयको घर डुबानमा परेको जानकारी दिए। राष्ट्रिय निकुञ्जलगायत चुरे क्षेत्रको पानी जम्मा भएर बस्ती डुबानमा परेको हो।
डुबानमा परेकामध्ये ३५ जना जतिलाई सुरक्षित स्थानमा सारिएको र अन्य आफन्तको शरण लिइरहेको उनले बताए।
बिहान सात बजेपछि वर्षा रोकिएको हुँदा बबई नदीमा आएको बाढीको तह पनि घट्दै गएको बोहोराले जानकारी दिए।
बिहान ६ बजेतिर बबईको बाढीले खतराको तह पार गरेको भए पनि क्रमिक रूपमा घट्दै गएको उनले बताए।