विराटनगरमा पूर्वसहकर्मीको घरमा पुगेर अभद्र व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले सिराहा मिर्चैया नगरपालिका-२ घर भई विराटनगरमा बस्दै आएका ४३ वर्षीय डा. दिपेन्द्रकुमार महतो पक्राउ परेको सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।
आइतबार राति उनी विराटनगर महानगर-४ स्थित पूर्वसहकर्मी महिलाको घरमा पुगेर होहल्ला, अपशब्द बोलेर गालीगलौज गरेको प्रहरीले जनाएको छ।
उनले मापसे गरी उक्त घरमा पुगेको प्रहरी निरीक्षक नायकले बताए।
महतो यातायात व्यवस्था कार्यालयमा कार्यरत थिए। प्रहरी निरीक्षक नायकका अनुसार कार्यालयमा लाइसेन्स लिन आउनेहरूको आँखा चेकजाँच महतोले गर्ने गरेका थिए।
पीडितले अभद्र व्यवहारमा जाहेरी दिएपछि पक्राउ गरी सोमबार म्याद थप गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय मोरङबाट उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।